कांग्रेस माओवादी गठबन्धन भत्कियो, एमाले सहितको मन्त्रिपरिषद् आजै विस्तार हुने

२१ फागुन, काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।
आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।
कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । एमालेको सचिवालय बैठकले सरकारमा जान निर्णय गरेको छ ।
एमालेले सोमबारै पदम गिरीलाई सरकारमा पठाउने छ । माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ । पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दैछ । रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् । दुवै दलका पनि बैठक चलिरहेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पनुर्गठनको पत्र पठाउने छन् । त्यसपछि आजै शपथ हुनसक्ने एक एमाले नेताले जानकारी दिए ।