शैक्षिक तथा गुणस्तरका लागि नेविसंघ रामपुर क्याम्पस इकाइको ध्यानाकर्षण

केशव

असार १५, २०८१

share this:

चितवन । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, केन्द्रीय क्याम्पस रामपुर इकाइले संकायको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इकाइ सभापति निकेश शर्मा र सचिव प्रितम भण्डारीले आठ सूत्रीय माग पूरा गर्न ७२ घण्टे दबाब दिँदै नेविसंघले उठाएका मागप्रति साथ दिन सम्पूर्ण कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीयवासीलाई आग्रह गरेका छन् ।

विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलगायत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य बिमा गर्नुपर्ने, विश्वविद्यालय मातहतमा एउटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, विश्वविद्यालयमा डिस्पेन्सरी स्तरोन्नति गर्दै न्यूनतम पाँचवटा बेडको व्यवस्था गरी प्राथमिक उपचार सोही ठाउँबाट मिलाउन स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने, भेटेरिनरी शिक्षण अस्पतालको स्तरोन्नति गरी चौबिसै घन्टा खुल्ला गरी आफ्नै फार्मेसीको व्यवस्था मिलाउन माग गरिएको छ ।

यसैगरी, अनाधिकृतरुपमा विश्वविद्यालयका सम्पति तथा पदाधिकारीका गाडीहरु व्यापकरुपमा दुरुपयोग गरिँदा विश्वविद्यालयलाई आर्थिक भार थपिएको हुँदा सार्वजनिक सम्पतिको दुरुपयोग बन्द गर्नुपर्ने, विश्वविद्यालयमा रहेको माछा पोखरी, वागवानी विभाग र कृषि विभाग व्यवस्थित गरी उत्पादित भुरा अनि एक्वारियम स्थानीय बजारसम्म लैजान, नर्सरीलाई सुधार गर्दै उन्नत जातका विरुवा उत्पादन गरी किसानलाई उपलब्ध गराउन माग रिएको छ ।

यस्तै, भेटेरिनरी कक्ष भवनबाट शिक्षण अस्पताल जाने बाटो अवरुद्ध रहेकाले आपत्कालीन समयमा समस्या सिर्जना हुनसक्ने भएकाले सो बाटो चाँडो सुचारु गर्नुपर्ने र छात्रवास, पुस्तकालय र प्रयोगशालामा रहेका समस्याहरुप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने मागसमेत नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, केन्द्रीय क्याम्पस रामपुर इकाइले राखेको छ ।

यसका साथै पुस्तकालयमा हालसालै प्रकाशित भएका नयाँ पुस्तकहरुको व्यवस्था गर्न, छात्रवास र छात्रवासमा पानी तथा सरसफाइको व्यवस्था गर्न र प्रयोगशालामा प्रयोग हुने रसायन, औजार लगायत नयाँ प्रविधिको कमीले विद्यार्थीको प्रयोगात्मक पठनपाठनमा असर पर्न गएको भन्दै मागहरुलाई पूरा गर्न सम्वन्धित सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।

नेविसंघ रामपुर इकाइले उपकुलपतिको कार्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, रजिस्ट्रारको कार्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, डिनको कार्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय, रामपुर र डिनको कार्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्स्य तथा मत्स्य विज्ञान संकाय, रामपुर चितवनलाई बोधार्थ पठाएको छ ।