प्याराडाइजले चुम्यो भरतपुर गोल्डकपको उपाधि

चितवन । मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाइज युथ क्लब रत्ननगरले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागमती युथ क्लब सर्लाहीलाई १–० ले हराउँदै प्याराडाइजले उपाधि चुमेको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको उपाधि भिडन्तमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरूङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औँ मिनेटमा मैदान प्रवेश गरेका मोहितले १६ औँ मिनेटमा निर्णायक गोल गरे ।
खेलको अन्त्यतिर बागमतीले राम्रो अवसर प्राप्त गरे पनि गोल गर्न भने सकेन । निर्णायक गोल गरेका मोहित प्लेयर अफ द म्याच घोषित भए । च्याम्पियन बनेको प्याराडाइज युथ क्लबले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बागमतीले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता बागमतीका राज भुसाल प्लेयर अफ द सिरिज भए । यस्तै, प्याराडाइजका अभिषेक बराल उत्कृष्ट गोलरक्षक तथा प्याराडाइजकै जीवन गुरूङ उत्कृष्ट डिफेन्डर बने । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक चितवन ११ का अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।