उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै विपीको सम्मान हो : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै विपीप्रतिको उच्च सम्मान भएको बताएका छन् ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले मंगलबार आयोजना गरेको वडा कार्यालय एवं विपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताए ।
उनले भने, “विपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो । त्यसरी नै हामी हिँड्न जरुरी छ ।” विपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उनले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताए ।
उनले थपे, “कांग्रेसीको मनभित्र भएको भय विपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाईं हामीकै हो ।” अहिले भएको परिवर्तन विपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उनले यसलाई जगाई राख्न सक्नु नै विपीको सच्चा अनुयायी हुने बताए ।
उनले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए । उनले भने, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले विपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ ।” जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उनले विपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताए । कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उनले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको छ भन्ने आभास तल्लो तहमा हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरूङ, अञ्जनी श्रेष्ठले कांग्रेस विपीको विचारअनुसार हिँड्न युवाहरू अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, नेपाली कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायतले विपीको योगदानबारे चर्चा गरे ।
विसं २०७७ मा निर्माण सुरू गरिएको विपी स्मृति भवनको मंगलबार औपचारिकरूपमा उद्घाटन गरिएको हो । स्व मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजारको लागतमा भवन निर्माण गरिएको हो ।