राष्ट्रिय सभा सदस्यको मतदान आज
रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने र बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने आयोगको भनाई छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेको छ ।