आगामी बजेट यथार्तपरक र कार्यन्वयन गर्न सक्ने खालको हुनुपर्दछ- चेम्बर अध्यक्ष मल्ल

चितवन अनलाईन न्युज

चैत्र २७, २०८०

share this:

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभा शुरु भएको छ । वार्षिक साधारणसभाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।  उनले आगामी बजेट बस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘बजेट संधै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्तपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ, । ’

आर्थिक गतिविधी विस्तार गरी राजश्व लक्ष्य बृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । उहाँले करको दर नभई दायरा बिस्तार गरेर नागरिकता संगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राखे । 

अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लले बताउनुभयो । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्षपनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाई छ ।  पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताए ।

मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सुचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताए । आर्थिक उन्नतीका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भिर रहेको उनले बताए ।

पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।