नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।
धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेशसभामा सो पार्टीको संसदीय दलका नेता हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अछामको मङ्गलसेनमा विसं २०३४ मा जन्मिएका सोडारीको हालको स्थायी बसोबास कैलालीको मसुरिया र अस्थायी बसोबास धनगढीमा छ ।
शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गरेका सोडारी विसं २०७० मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कैलाली जिल्ला अध्यक्ष थिए । तत्कालीन नेकपा विभाजनका बेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए ।
प्रदेशसभाको विसं २०७४ मा भएको पहिलो निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी सोडारी निर्वाचनपछि गठन भएको प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी बहन गरेका थिए ।
विगतका राजनीतिक आन्दोलनमा पटकपटक जेल परेका उनी पार्टीको कुशल सङ्गठनकर्ताका रुपमा चिनिन्छन् ।