भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरू, मेयर दाहालद्वारा उद्घाटन

केशव

जेष्ठ १९, २०८१

share this:

भरतपुर । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरू भएको भएको छ । एक्सपोको शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक संघको संयुक्त आयोजनामा एक्स्पो सुरू भएको हो । एक्सपो ३ दिनसम्म चल्ने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएको प्रष्ट पारिन् ।
भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नु उद्देश्य यहाँको आर्थिक गतिविधि चलयामान बनाउनु रहेको प्रमुख दाहालको भनाइ छ ।
अर्थतन्त्रको मेरुदण्ड कृषि र कृषिमा पनि पोल्ट्री भएकाले यसको थप व्यावसायीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने प्रमुख दाहालले बताइन् । भरतपुर महानगरले पोल्ट्री क्षेत्रको विकासको लागि स्थानीय सरकारको हैसियतले सधैँ सकारात्मक रहेको उनले उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमै एक्सपो गरिएको बताए । एक्सपोमा विशेष गरी कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने उनले जानकारी दिए ।

एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहने र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरू सहभागिता रहेको छ ।

विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न न सक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउन पाठशाला सञ्चालन गरिएको उनले बताए । एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिइने छ।
एक्सपोमा कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने छ ।

एक्सपोको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकलन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।