बाढीपहिरो लगायतका विपद्‍मा परी हालसम्म १५० जनाको मृत्यु

केशव

साउन २०, २०८१

share this:

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‍मा परी अहिलेसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।

बाढीपहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५० जनाको मृत्यु भएको हो ।

यस्तै, काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७७ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । यस्तै, काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय १९ घरपरिवार विस्थापित भएका छन् ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ ।