सिद्धि विनायक माविको वार्षिकोत्सवमा सूर्य श्रेष्ठसहित १४ जना सम्मानित

चितवन । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य एवं भरतपुर-११, वाइपासरोडमा रहेको एस. एण्ड पि. अडिटिङ कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठसहित १४ जना सम्मानित भएका छन् । सिद्धि विनायक माध्यमिक विद्यालय भरतपुर ११, बसेनीले ६४ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार उनीहरुलाई सम्मानित गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सिद्धि विनायकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रराज कौडाल, विद्यालयका प्राचार्य शिव कोइरालाले श्रेष्ठसहित १४ जनालाई प्रमाणपत्र र दोसल्ला ओढाएर संयुक्तरुपमा सम्मान गरेका हुन् ।
सम्मानित श्रेष्ठले सोही अवसरमा ५५ हजार ५५५ रुपैयाँ अक्षयकोष स्थापनाका लागि प्रदान गर्ने घोषणा गरे । सो कोषलाई थप गरी आगामी वर्ष १ लाख ११ हजार १११ अक्षयकोषका लागि पुर्याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अक्षयकोषबाट आदिवासी जनजाति समुदायका बालबालिकालाई निःशुल्क शिक्षाका लागि खर्च गरिने बताइएको छ भने प्लस टु का उत्कृष्ट एक छात्र र एक छात्रालाई पुरस्कृत गरिने छ ।
आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यसमेत रहेका परोपकारी र मनकारी व्यक्तित्व समाजसेवी श्रेष्ठले यसअघि विभिन्न स्कुलहरुलाई शिक्षा सामग्री, न्यानो कपडा र विभिन्न संघसंगठनहरुलाई सहयोग गर्दै आएका छन् । उनले आफ्नो आम्दानीको २५ प्रतिशत रकम समाज सेवामा लगाउँदै आएको बताएका छन् ।
कार्यक्रममा एस. एण्ड पी. अडिटिङ कम्पनीमा विभिन्न करसम्बन्धी, कम्पनी दर्ता, खारेजी, अद्यावधिक, पान नम्बरलगायत कार्य हुने बताउँदै जनजातिको संघसंस्थालाई विशेष छूट दिने व्यवस्थासमेत भएको उनले जानकारी दिए ।