१५औँ संस्करणको चितवन महोत्सव पुस २५ देखि सुरू हुँदै

केशव

पुस १८, २०८१

share this:

चितवन । उद्योग वाणिज्य संघ चितवनले पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदीकिनारमा १५औँ संस्करणको चितवन महोत्सव आयोजना गर्ने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । विसं २०५३ सालदेखि आयोजना हुँदे आएको महोत्सवमा यस वर्ष पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइएको छ ।

महोत्सव संयोजक सुमनकुमार श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने लक्ष्य महोत्सवको रहेको बताउँदै चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको जानकारी दिए ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री तथा उद्योगलगायतका विषयले निरन्तरता पाएको छ ।

विगतका वर्षमा १० दिन महोत्सव आयोजना गर्दै आएको संघले यसवर्ष भने १५ दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी गरेको उनले बताए । ‘विगतमा १० दिनसम्म मात्रै महोत्सव सञ्चालन गरिए पनि यसपटक विगतका अनुभवबाट प्राप्त ज्ञान, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गर्दै चितवनको आर्थिक गतिविधिलाई थप चलायमान गराउने उद्देश्यसहित पाँच दिन बढाएका छौँ’, उनले भने ।

उनका अनुसार महोत्सवमा सातवटा विशेष व्यावसायिक प्रदर्शनी कक्षसहित डोम, कृषि परिसर, अटो परिसर तथा निर्माण सामग्री व्यवसायीहरुको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको प्रदर्शनी कक्ष, विभिन्न संघसंस्थाका प्रदर्शनी कक्षसँगै रेस्टुरेन्ट रहनेछन् । महोत्सवस्थलमा यसपटक केराको थामबाट रेसा निकाल्ने कार्य विशेष आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

महोत्सवबाट झन्डै ३० करोड रूपैयाँभन्दा माथिको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सफल पार्नका लागि मूल समिति र संरक्षकसँगै सल्लाहकार समिति, स्टेरिङ समिति र ३० वटा कार्यगत समिति गठन गरेर तयारी गरिरहेको मूल समारोहका संयोजक श्रेष्ठले जानकारी दिए ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रवर्द्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन छन् । प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् ।

महोत्सवमा सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४३० वटा स्टल रहने छन् । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवको प्रवेश शुल्क सर्वसाधारणलाई एकसय रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको संयोजक श्रेष्ठले बताए ।