भरतपुर उपमेयरकप भलिबल : पुरुषतर्फ वडा नं–२७ र २५ उपाधिका लागि भिड्ने

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा जारी अन्तरवडा उपमेयरकप (महिला÷पुरुष) भलिबल प्रतियोगिता २०८१ को फाइनल खेल्ने टिम टुङ्गो लागेको छ ।
भरतपर–१०, स्थित गेष्टहाउस चौरमा जारी प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनल हुँदै सेमिफाइनल खेल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा भरतपुर वडा नं–२७ ले वडा नं–२० लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
यस्तै, दोस्रो सेमिफाइनलमा भरतपुर वडा नं–२५ ले वडा नं–२८ लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अब उपाधिका लागि शनिबार भरतपुर वडा नं–२७ र वडा नं–२५ बीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, महिलातर्फको पनि दुई सेमिफाइनल खेल सम्पन्न भएका छन् । उपाधिका लागि भरतपुर वडा नं–१३ र वडा नं–२३ बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०/१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।