प्राज्ञिकको दसौँ राष्ट्रिय अधिवेशन चितवनमा हुँदै

भरतपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दसौँ राष्ट्रिय अधिवेशन आगामी चैत २ देखि ४ गतेसम्म चितवनमा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा, स्वावलम्बन र सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।
अधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए । ‘राष्ट्रिय सुरक्षा, स्वावलम्बन, सुशासन, शिक्षा, समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवावर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि अधिवेशन मह¤वपूर्ण हुनेछ’, उनले भने ।
देशमा बढ्दो भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी, आर्थिक एवं पर्यावरण सङ्कट, बढ्दो सुरक्षा चुनौतीलगायतका समस्या र समाधानका उपायबारे युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा अधिवेशन केन्द्रित हुने उनले बताए । अधिवेशनमा विभिन्न चारवटा प्रस्तावहरु पारित हुने परिषद्ले जनाएको छ । त्यसैगरी, परिषद्को सङ्गठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, आगामी दिशालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले विद्यार्थी परिषद् दलगत राजनीतिभन्दा माथि रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि प्रयत्नशील रहेको बताए । विश्वविद्यालय र क्याम्पसमा दलीय भागबन्डा र राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यक्ति र समाज निर्माणका लागि परिषद्ले काम गरिरहेको उनले बताए ।
चितवन उद्योग संघको हलमा हुने अधिवेशनको सन्त समाजका अध्यक्ष १००८ ज्ञानानन्द सरस्वती महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा ‘वर्तमान शिक्षा प्रविधिको उपयोगिता एवं प्रभाव’ र ‘राष्ट्रिय सुरक्षा र सुशासन’को विषयमा बहस हुनेछ । चैत ३ गते दिउँसो शोभायात्रा रहने छ, जसमा विद्यार्थीहरुले अधिवेशन स्थलदेखि पुलचोक हुँदै भरतपुरका विभिन्न ठाउँको परिक्रमा गर्ने छन् ।
देशको शिक्षा, आर्थिक र समसामयिक विषयमा मह¤वपूर्ण प्रस्तावहरु पारित हुने र स्वास्थ्यसेवी दिनेश तामाङलाई विद्यार्थी परिषद्ले वितरण गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । चैत ४ गते नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्ने र सोही दिन अधिवेशनको समापन हुनेछ ।