चितवनमा पाँचदिने भलिबल प्रशिक्षक प्रशिक्षण सुरू

केशव

चैत्र १६, २०८१

share this:

चितवन । चितवनमा आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट प्रशिक्षण कार्यक्रम सुरू भएको हो ।

हिमालय दण्डपाणि न्यौपाने माविमा सुरू भएको कार्यक्रमको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका थिए । सो क्रममा लामाले जिल्ला खेलकुदले पछिल्लो समय गरिरहेको गतिविधिहरुको प्रशंसा गरे । उनले प्रशिक्षकका लागि यो कार्यक्रम फलदायी हुने बताए ।

प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाबाट ४५ जना भलिबल प्रशिक्षकहरु सहभागी छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का खेल विज्ञ शिवराज भट्ट र भलिबल प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिने जिल्ला खेलकुद विकास समितिका सदस्य शैलेश थापाले जानकारी दिए ।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश कराँते प्रमुख गगन लामा, कार्यक्रम संयोजक एवं व्यवस्थापक रामहरि ढकाल, समितिका जिल्ला सदस्य छविरमण तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण चैत २० गतेसम्म चल्ने छ ।