सूर्यपुरलाई भरतपुर-२४ गोल्डकप फुटबलको उपाधि

केशव

असार २, २०८२

share this:

भरतपुर । चौथो पेन्गुइन भरतपुर-२४ गोल्डकप फुटबलको उपाधि सूर्यपुर एफसीले जितेको छ । आइतबार सम्पन्न उपाधि भिडन्तमा हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।

दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलोपटक उपाधि जितेको हो । उता पहिलो संस्करणको विजेता बिएफसी भने चौथो संस्करणमा उपविजेतामा सीमित भएको छ । सूर्यपुरको जितमा बिक्की चामलिङ राईले दुई तथा जय गुरूङले एक गोल गरे । बिएफसीले एक उपहार गोल पाएको थियो ।

खेलमा अग्रता भने बिएफसीले लिएको थियो । खेलको नवौँ मिनेटमा राम थापाको आत्मघाती गोलमा बिएफसीले अग्रता लिएको थियो । तर, उसको अग्रता धेरै समय टिकेन । १९ औँ मिनेटमा जय गुरूङले सुन्दर गोल गरे । २४ औँ मिनेटमा बिक्कीले गोल गर्दै सूर्यपुरलाई अग्रता दिलाए ।

२७ औँ मिनेटमा बिक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुर विजयी भयो । बिक्की फाइनलको प्लेयर अफ द म्याच भए । च्याम्पियन बनेको सूर्यपुरले ट्रफीसहित ३ लाख ३ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित बिएफसीले १ लाख ७५ हजार प्राप्त गरेको छ ।

सूर्यपुरका जय गुरूङ प्लेयर अफ द सिरिज भए । उनले १० हजार प्राप्त गरे । सूर्यपुरकै प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, रोशन उत्क्रष्ट प्रशिक्षक तथा बिएफसीका निर्मल घिसिङ उत्क्रष्ट डिफेन्डर बने । उनीहरुले जनही ५-५ हजार प्राप्त गरे । भरतपुर-२४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।