भरतपुर मेयरकप फुटबल शुक्रबारदेखि आयोजना हुने

केशव

असार ५, २०८२

share this:

भरतपुर । भरतपुर मेयरकप अन्तरविद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण असार ६ गते शुक्रबारदेखि सुरू हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका २४ सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी छन् । उद्घाटन खेलमा नेपाल पुलिस स्कुल र चितवन मावि भिड्नेछन् । खेल भरतपुर–७ कृष्णपुरमा दिउँसो ४ः३० बजे सुरू हुनेछ ।

प्रतियोगिताका लागि यसअघि छनोट चरणका खेलहरु आयोजना भएका थिए । ६३ स्कुल सहभागी छनोट चरणबाट १२ स्कुल छनोट भएका थिए । यस्तै, गत वर्ष सम्पन्न मेयरकपको लिग चरणबाट नकआउटमा पुगेका १२ टोली सीधै छनोट भएका हुन् । गत वर्ष लिग भए पनि यसवर्ष सीधै नकआउट खेलाइने अध्यक्ष कार्कीले बताए ।

१३ गतेसम्म हुने प्रतियोगिताका खेलहरु विभिन्न चारवटा मैदानमा खेलाइने छ । संघका महासचिव रामहरि ढकालका अनुसार भरतपुर–७, कृष्णपुर, भरतपुर–१२, रामवेल सामुदायिक मैदान, भरतपुर–१४, सुन्दरबस्ती र स्मल हेभन स्कुलको मैदानमा खेलहरु हुनेछ ।

यसैबीच, छनोट चरणबाट छनोट भएका दुई स्कुल बाहिरिएका छन् । गौरीगन्ज मावि र प्रभात माविका खेलाडीहरुविरुद्ध उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा कागजातमा त्रुटि देखिएकोले ती स्कुललाई कारबाही गरिएको उनले बताए । कारबाहीमा परेका गौरीगन्ज माविको स्थानमा अर्बिट स्कुल र प्रभातको स्थानमा पारिजात स्कुल छनोट भएका छन् । यी दुई स्कुल छनोट चरणमा आफ्नो समूहमा चौथो भएका थिए ।

भरतपुर महानगरपालिकाको आर्थिक सहयोग तथा प्रवर्द्धनमा गत वर्षबाट सुरू भएको मेयरकप नेपालकै विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिताको भएको संघका अध्यक्ष कार्कीको भनाइ छ । गत वर्ष अमर माविले मेयरकपको उपाधि जितेको थियो भने विश्वप्रकाश मावि उपविजेता भएको थियो ।