भरतपुर मेयरकप : उपाधिको भिडन्तमा डन एकेडेमी र वाल्मीकि

केशव

असार १६, २०८२

share this:

चितवन । दोस्रो भरतपुर मेयरकप फुटबलको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । फाइनलअघि आइतबारको प्रिम्याच कन्फ्रेन्समा डन एकेडेमी र वाल्मीकि शिक्षा सदन दुवैले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।

मेयरकपको उपाधिका लागि सोमबार डन र वाल्मीकि भिड्दैछन् । डन पहिलोपटक मेयरकपमा सहभागी टिम हो भने दोस्रोपटक खेलिरहेको वाल्मीकि पहिलोपटक फाइनल प्रवेश गरेको हो । यसर्थ दुवै टिम पहिलोपटक फाइनल प्रवेश गर्दा नै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

डनका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम उच्च मनोबलका साथ मैदान उत्रिने बताए । उनले छनोट चरणदेखि नै टिमले मिहनत गर्दै आएकोले फाइनलमा पनि नतिजा राम्रो आउने विश्वास व्यक्त गरे । उनले आफ्नो टिम आक्रमक शैलीमा मैदान उत्रिने बताए । कप्तानले प्रतिद्वन्द्वीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने दाबी गरे । पहिलो सहभागितामा नै उपाधि जित्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

वाल्मीकिका प्रशिक्षक ध्रुव भुसालले पहिलो संस्करणको मेयरकप खेलेका खेलाडीहरु योपटक पनि टिममा रहेकोले त्यो अनुभव काम लाग्ने बताए । यो टिम फाइनलको अनुभव र दबाबसँग परिचित रहेकोले नजिता राम्रो आउने बताए । कप्तान एलेक्स गुरूङले वाल्मीकि उपाधि जित्नका लागि नै मैदान उत्रिने बताए । अघिल्ला खेलमा भएका कमजोरी फाइनलमा सुधार्ने उनको भनाइ थियो ।

फाइनल खेल सोमबार दिउँसो ४ः०० बजे भरतपुर–७, कृष्णपुरमा हुनेछ । डन एकेडेमीले आदिकवि भानुभक्त मावि तथा वाल्मीकिले जनज्योति माविलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगितामा ७६ स्कुल सहभागी थिए ।

यसैबीच, प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रिम्याच कन्फ्रेन्सकै अवसरमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की, महासचिव रामहरि ढकाल, भरतपुर महानगरका इन्जिनियर साकार लामा, संघका सदस्यहरु र दुवै टिमका प्रतिनिधिहरुको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।