धानमा आत्मनिर्भर बन्नका लागि नै कृषि दशक घोषणा गरेको हुँ : प्रधानमन्त्री

केशव

असार १५, २०८१

share this:

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानलगायतका खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउनकै लागि कृषि दशकको घोषणा गरिएको बताएका छन् ।

भरतपुर महानरपालिकाले केशरबागमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै आगामी दशकलाई कृषि दशक भनि नीति तथा कार्यक्रममै समावेश गरिएको बताए ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएको स्मरण गर्दै उनले वार्षिक पाँच लाख ८१ हजार ५०५ मेट्रिक टन धान आयात गर्नुपर्ने बाध्यता रहेको बताए । २०७९ सालमा भन्दा २०८० सालमा झण्डै ५ प्रतिशतले धान उत्पादन बढेको उनले बताए । गत वर्ष धान र चामल आयात पनि घटेको उनको भनाइ थियो ।

‘सिंचाइको राम्रो प्रबन्ध, रासायनिक मलको सहज आपूर्ती, गुणस्तरीय विउ बिजनको सुनिश्चितता र जलवायु मैत्री प्रविधि अवलम्बन र उत्पादन भएको वस्तुको सहज बजारीकरणको सुविधा प्राप्त हुने हो भने पाँच लाख मेट्रिक टन धान उत्पादन बढाउन कुनै आइतवार पर्खनु पर्दैन । सजिलै बढाउन सकिन्छ । हामी धानमा आत्मनिर्भर बन्ने प्रबल सम्भावना छ’,उनले भने, ‘मेरो लक्ष्य के छ भने । यो कृषि आधुनिकीकरण अन्तर्गत केहि वर्षभित्रै हामीले धान र खाद्यान्नमा आत्मनिर्भर हुने बाटोमा जानका लागि नै मैले कृषि दशकको घोषणा गरेको हुँ ।’

गृहजिल्लामा आएर धान दिवसको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै उनले चितवनमा सिंचाइ विकासको लािग त्रिशूलीको पानीलाई टनेलमार्फत शक्तिखोर निकाल्ने बारेमा सरकारको विभिन्न स्तरमा छलफल भइरहेको बताए । सुनकोसी मरिण डाइभर्सनको उदाहरण दिँदै उनले चितवनमा पनि त्यसको सम्भावना रहेको बताए ।

मलको उचित व्यवस्थापनले धानको उत्पादकत्व वृद्धि गर्न सक्ने भन्दै उनले मल व्यवस्थापनमा सरकारको गहिरो ध्यान गएको बताए । ‘अहिले मलको कमी हुन नदिनको निम्ति धेरै मेहनतपछि अब मल आउँदै छ । मल वितरणको प्रणाली पनि व्यवस्थित नभएको भन्ने गुनासो मैले सुनेको छु’, उनले भने ।

आफू पनि कृषिको विद्यार्थी भएकोले किसानको समस्या समाधान गर्ने र उत्पादन बढाउन कस्तो नीति अगाडि सार्ने भन्ने कुरामा केन्द्रित रहेको उनले दाबी गरे । उनी यसअघि रत्ननगरको बछौलीमा आयोजित रोपाई महोत्सवमा पनि सहभागी भएका थिए । उनले त्यहाँ मेशिनबाट धान रोपेर धान दिवस तथा रोपाइँ महोत्सवको उद्घाटन गरेका हुन् ।