निकुञ्ज र थारु संस्कृतिले सौराहा उत्कृष्ट गन्तव्य : मुुख्यमन्त्री लामा

खैरहनी । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निकुञ्ज र थारु संस्कृतिका कारण सौराहा उत्कृष्ट गन्तव्यको रुपमा परिचित रहेको बताएका छन् । उनले सौराहालाई आधार बनाएर पर्यटनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं–७ को आयोजनामा खैरहनीमा सोमबारदेखि खिचरा महोत्सवको दसौँ संस्करण उद्घाटन गर्दै मुख्यमन्त्री लामाले थारु संस्कृति पर्यटन विकासको आधार भएको र थारु संस्कृतिका कारण सौराहा विश्वसामु परिचित रहेको बताए ।
थारु संस्कृतिमार्फत पर्यटन विकास गर्ने थुप्रै आधारहरु रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उनले बताए । ‘थारु संस्कृतिमार्फत पर्यटक भित्र्याउन थुप्रै आधारहरु छन्’, उनले भने, ‘त्यसका लागि थारु समुदायले परम्परागतरुपमा प्रयोग गर्दै आएका सामग्रीको संरक्षण गर्नुपर्छ ।’
उनले खैरहनीमा निर्माण गरिएको थारु संस्कृति सङ्ग्रहालय सञ्चालनका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताए । चितवन कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको हब रहेको भन्दै उनले चितवनको पर्यटनमार्फत आर्थिक समृद्धिको मार्ग कोर्न सकिने बताए ।
मुख्यमन्त्री लामाले खैरहनीमा अलपत्र परेको चिस्यान केन्द्र सञ्चालनका लागि पहल गर्ने बताए । १५ करोडको लगानीमा निर्माण गर्दागर्दै अलपत्र परेको चिस्यान केन्द्रको सञ्चालनका लागि भएको अवरोध कानुनी प्रक्रियाअनुसार टुङ्गो लगाएर सञ्चालन गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य वासुदेव चौधरी, आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरी, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, प्रदेशसभा सांसद्हरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, माया श्रेष्ठ, खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाँ, बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, खैरहनी नगरपालिकाकी उपमेयर कमला उप्रेती, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, खैरहनी वडा नं–५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाली कांग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, एमालेका नगर अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनाललगायतले मन्तव्य राखेका थिए ।
१५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरूको प्रतिमा निर्माण गरिएको उनले बताए । माघ ७ गतेसम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रवद्र्धनमा जोड दिइएको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय पार्षद् चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।