भरतपुरमा राजावादीको विरोध प्रर्दशन : प्रधानमन्त्रीलाई केरा उपहार !

केशव

बैशाख ३०, २०८२

share this:

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहार दिन भनी राजावादीहरुले लगेको केरा प्रहरीले बरामद गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल नारायणी अञ्चल कमिटीले मङ्गलबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रका साथमा केरा उपहार दिने योजना बनाएको थियो ।

भरतपुरको हाकिमचोकमा जम्मा भएर जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गरेका राजावादीको साथबाट प्रहरीले केरा बरामद गरेको हो ।

प्रधानमन्त्रीलाई उपहार दिन ल्याएको एक दर्जन माल्भो केरा प्रहरीले बीच बाटोबाटै बरामद गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल नारायणी अञ्चल कमिटीका सहसंयोजक मेघराज पौडेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीलाई एक दर्जन केरा उपहार दिन खोजेका थियौँ, प्रहरीले बीचबाटै खोसिदिनुभयो’, उनले भने, ‘अझ बढी भ्रष्टाचार गर्ने ताकत बनोस् भनेर चितवनको माल्भो केरा दिन खोजेका हौँ । उहाँ थाक्नुभयो कि, अब बसेर केरा खानुस् भनेर साङ्केतिकरुपमा केरा पठाउन खोजिएको हो ।’

विभिन्न सात बुँदे माग राखेर प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उनले बताए । भरतपुरको आँपटारीस्थित योगी नरहरिनाथको कुटीमा आगजनी भएको विषयमा सत्यतथ्य छानबिन गर्न, दुर्गा प्रसाईलगायतका आस्थाका बन्दीलाई ससम्मान रिहा गर्न र शान्तिपूर्णरुपमा व्यवस्था परिवर्तनका लागि सहयोग गर्न माग गरिएको उनले बताए ।

त्यस्तै, वैदिक सनातन हिन्दु अधिराज्य कायम गर्न, राज्य आतङ्क बन्द गर्न, वित्तीय ज्यादती र लघुवित्त ज्यादती बन्द गर्न र मिटरव्याजपीडित एवं सहकारीपीडितलाई न्याय दिन ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

‘राष्ट्रवादी र आस्थाका धरोहरहरुलाई आतङ्कवादीलाई जस्तो गरी फलामको घेराभित्र कैद गरिएको छ । ती आस्थाका बन्दीहरुलाई यथाशीघ्र ससम्मान रिहा गरियोस् भन्ने हाम्रो माग हो’, उनले भने । अन्यथा देशभर सशक्त आन्दोलन थालिने उनले चेतावनी दिए ।

चुप लागेर बसेका पूर्वराजालाई समेत प्रधानमन्त्रीले गालीगलौज गरेकाले भुइँमान्छेको तर्फबाट केरा उपहार पठाइएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा करिब ३५ जना राजावादी सहभागी थिए । ज्ञापन पत्र बुझाउनुअघि भएको र्‍यालीमा राजावादीले ‘आस्थाका बन्दीलाई रिहा गर’, ‘हिन्दु राज्य कायम गर’, ‘राजा आउ देश बचाउ’, ‘भ्रष्टाचारी मुर्दावाद’लगायतका नारा लगाएका थिए ।