स्व. सुदीप विकको परिवारलाई महानगरको दुई लाख सहयोग

केशव

साउन ३, २०८१

share this:

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदीप विकको परिवारलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहीबार भरतपुर–२२ स्थित स्व. सुदीपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो । भरतपुर महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप दुई लाख रुपैयाँ सहायता गर्ने निर्णय गरेको थियो । सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गरिन् ।

महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्राकृतिक विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहत भएको बताइन् । अहिलेसम्म १८ जनाको शव भेटिए पनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले बताइन् ।

‘हामी अहिले दुःखको क्षणमा छौँ,उनले भनिन् ,‘सन्तान गुमाउनुको पीडा हामीले बुझेका छौँ । सिंगो महानगरपालिका यहाँको साथमा छ । शोकलाई शक्तिमा बदल्ने सर्माथ्य मिलोस् भन्ने कामना गर्दछौँ।’

प्रमुख दाहालले दुःखमा रहेको परिवारलाई केही भए पनि राहत मिलोस् भनि कार्यपालिका बैंठकमार्फत दुई लाख रुपैयाँ दिने निर्णय गरेको स्पष्ट पारिन् । उनले संघीय तथा प्रदेश सरकारले यस घटनामा ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गर्नेमा आशावादी रहेको बताइन् ।