लालपुर्जा पाएको खुसियालीमा रत्ननगरका जनप्रतिनिधिलाई सम्मान

केशव

चैत्र ३, २०८१

share this:

रत्ननगर । रत्ननगर–१२, सालघारीमा भूमिहीन सुकुमबासीहरुले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेको खुसियालीमा जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् ।

सालघारी टोल विकास संस्थाको आयोजनामा रत्ननगर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, संस्थापक नगरप्रमुख, संस्थापक वडाध्यक्ष एवम् जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन् । सालघारी बस्तीमा ५५ वर्षदेखि भूमिहीन रहँदै आएका नागरिकहरुले सुकमबासीबाट हुकुमबासी बनेको खुसियालीमा लालपुर्जा दिलाउन लागिपर्ने जनप्रतिनिधि र पूर्व जनप्रतिनिधिहरुलाई एकसाथ आभार प्रकट गर्दै सम्मान व्यक्त गरेका हुन् ।

सो अवसरमा आकृति महिला बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष फूलकुमारी लामाले भोट बैंकका रुपमा मात्र प्रयोग हुँदै यहाँका समुदाय निराश बनिरहेको अवस्थामा लालपुर्जा पाउँदा खुसीको सीमा नरहेको बताइन् । गरिबको मुहारमा खुसी पार्न सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरिन् ।

नेपाल बसोबास बस्ती समस्या समाजका अध्यक्ष दिलबहादुर तामाङले ‘नो लालपुर्जा, नो भोट’ भन्दै संघर्ष गरेको स्मरण गर्दै सबै एकजुट भएर लागिपर्दा १२३ जनाले लालपुर्जा प्राप्त गर्न सफल भएको बताए । उनले रत्ननगरमा रहेका २८ वटा बस्तीका भूमिहीन सुकुमबासीका लागि लालपुर्जा दिलाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

सो अवसरमा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, निवर्तमान वडाध्यक्ष वीरबहादुर पाख्रिन र संस्थापक वडाध्यक्ष श्याम बरालले लालपुर्जा दिलाएरै छाड्छौँ भनी आफूहरुले गरेको प्रतिबद्धता अहिले पूरा भएको बताए । छुटेका र अव्यवस्थित बसोबासीका लागि पनि आफूहरु सँगसँगै रहेको बताए ।

यस्तै, संस्थापक नगरप्रमुख नारायण वनले मुस्कानसहितको नगर बनाउन सहयोग गर्ने वर्तमान तथा संस्थापक जनप्रतिनिधिहरुलाई धन्यवाद दिँदै बाँकी रहेका वास्तविक सुकुमबासी पहिचान गरेर आयोगसमक्ष पुर्‍याउन आग्रह गरे । उनले रत्ननगर नगरपालिकाले १६वटै वडामा सार्वजनिक जग्गा संरक्षण गरेकाले सोही जग्गामा सुकुमबासीलाई व्यवस्थापन गर्न सकिने बताए ।

उपप्रमुख यादवप्रसाद पाठकले नेपालको ७५३ पालिकामध्ये रत्ननगरबाट भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण सुरू हुनु गर्वको विषय भएको बताए । नमिलेका कुरा मिलाएर सबै भूमिहीनलाई जग्गा दिलाउन नगरपालिकाको सिंगो टिम लागिपरेको बताए ।

नगरप्रमुख प्रलाद सापकोटाले लालपुर्जा प्राप्तिको विषय सोचेजस्तो सजिलो नरहेको बताउँदै ३९ वटा प्रक्रिया पूरा गरेपछिमात्रै जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न सकिने बताए । उनले भने, ‘तपाईंहरुले जेजति जग्गा प्राप्त गर्नुभएको छ, त्यसलाई संरक्षण गर्नुस् । आयआर्जन बढाउनेतर्फ लाग्नुस्, रग्ननगर नगरपालिका सधैँ साथमा छ ।’

विपन्न नागरिकको स्वास्थ्य र शिक्षाका हकमा अन्य नगरपालिकाभन्दा अग्र स्थानमा रहेको र जुनसुकै समस्या परे पनि पूरा गर्न आफू तत्पर रहेको उनले बताए । उनले भने, ‘मेयरलाई भेट्न कुनै सोर्सफोर्स लगाउनु पर्दैन, सबै दिदीबहिनी आमाबुबाको लागि ढोका खुला छ । समस्या लिएर आउनुहोस्, म पूरा गर्छु ।’

उनले आगामी ६ महिनाभित्र रत्ननगर–१४, ११ र १६ का भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नेगरी काम सम्पन्न भइसकेको र आफ्नो कार्यकालभित्र रत्ननगरका १६वटै वडाका सुकुमबासीको समस्या समाधान गर्नेगरी सबै वडाध्यक्ष र कर्मचारीलाई निर्देशन दिइसकेको उनले बताए ।

सालघारी टोल विकास संस्थाका अध्यक्ष राजु तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मायादेवी विकले गरेकी थिइन् । कार्यक्रममा ८१ वर्षमा जग्गा प्राप्ति गरेका सूर्यबहादुर नेगी र राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य पार्वती न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रत्ननगर–१२ का वडा सचिव शंकरबहादुर गिरी, वडा सदस्यहरु चन्द्रकला पनेरु, रामप्रसाद पाण्डे, सुकमाया विक, किसान बजगाईं, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम् समाजसेवीलगायतको सहभागिता रहेको थियो ।