रत्ननगर–५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ्य परीक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–५ मा रहेका अपाङ्गता भएका (पूर्ण र अतिअशक्त भत्ता प्राप्त गरिरहेका) व्यक्तिहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।
वडा कार्यालयमार्फत वडाभित्रका ‘क’ र ‘ख’ वर्गका अपाङ्ग कार्ड प्राप्त गरेका २९ जनालाई सामग्री वितरणसँगै स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष बालकृष्ण चापागाईंले बताए ।
वडा कार्यालयको आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित लक्षितवर्ग (बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग युवा, एकल महिला तथा सुत्केरी तथा अन्य कार्यक्रम)अन्तर्गत २९ जनालाई एक–एकवटा हर्लिक्स, समर बलाङ्केट, गोलो झुल वितरण गरिएको वडाध्यक्ष चापागाईंले जानकारी दिए ।
अपाङ्गहरुको समस्या र गुनासो बुझ्नको लागि घर–घरमै पुगेर स्वास्थ्य सामग्रीसँगै स्वास्थ्य परीक्षण गरिएको उनले बताए । उनले वडाभित्रका अशक्तहरुको मासिकरुपमा घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरिएको जानकारी दिए ।
सोमबार वडा कार्यालय र नगर स्वास्थ्यकेन्द्र, टरौलीले अपाङ्गता भएका २९ जनाको स्वास्थ्य परीक्षण गरेको र आवश्यक मात्रामा औषधिसमेत वितरण गरिएको स्वास्थ्यकेन्द्रका प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।
उनले यस अभियानकै क्रममा गर्भवती खोज कार्यक्रमसमेत गरिएको र नयाँ तीन जना गर्भवती महिला सम्पर्कमा आएका र नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकेन्द्रमा सम्पर्क गर्न सुझाव दिइएको बताए ।
सामग्री हस्तान्तरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा वडा सदस्यहरु नाथुराम महतो, राजेश महतो, निलु शर्मा खतिवडा, ज्ञानु सुनार, वडा सचिव दिनेश सुवेदी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।