स्थानीय तहको कुल गार्हस्थ उत्पादन मापन विधिसम्बन्धी गोष्ठी

रत्ननगर । नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको आयोजना एवम् रत्ननगर नगरपालिकाको समन्वयमा स्थानीय तहको कुल गार्हस्थ उत्पादन मापन विधिसम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख एवम् सचिव मधुसूदन बुर्लाकोटीले नेपालको ७५३ पालिकाको गार्हस्थ उत्पादन मापन गर्नका लागि पहिलोपटक रत्ननगर नगरपालिकालाई छनोट गरिएको बताए । रत्ननगर नगरपालिकासँग सम्झौता भएपछि राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको प्राविधिक टोलीले रत्ननगर नगरपालिकाको समग्र आयस्तरको अवस्था पत्ता लगाइने जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपसचिव डा शरदकुमार शर्मा, निर्देशक डा दिनेश भट्टराई र लेखा उपप्रमुख ऋषिराम सिग्देलले प्रशासनिक अभिलेख सङ्कलन, राष्ट्रिय लेखा प्रणाली र आर्थिक क्रियाकलाप मापनका लागि आवश्यक तथ्याङ्क तथा अनुमान विधिका बारेमा आआफ्नो प्रस्तुति दिएका थिए ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्वागत मन्तव्य राखेका थिए ।
प्रशासन शाखा प्रमुख सबिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा अर्थविज्ञ मनविरसिंह खड्का, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा वीरेन्द्र महतो, रामप्रसाद बस्ताकोटी, राजेन्द्र हमाल, यशोदा अधिकारी र सूर्यबहादुर तामाङले आआफ्ना जिज्ञासा तथा राय पेस गरेका थिए ।
नेपालको कुल गार्हस्थ उत्पादन ६१ खर्ब ७ अर्ब रहेकोमा स्थानीय तहको गार्हस्थ उत्पादन थाहा पाउन एसियाली विकास बैंकको आर्थिक सहयोगमा सो गोष्ठीको आयोजना गरिएको हो ।