माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते

केशव

जेष्ठ ६, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, जुगेडी बजारमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ज ५५६६ नम्बरको माइक्रोले विपरीत दिशाबाट जाँदै गरेको लु १९ प ६३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई माइक्रो अनियन्त्रित भई सडक साइडमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा भरतपुर–१० बस्ने ५३ वर्षीय क्षितिज घिमिरे, निजकी श्रीमती ५४ वर्षीया रेखा कार्की (घिमिरे) घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका रुपन्देहीको तिल्तोन–५ बस्ने ६० वर्षीय चूडामणि न्यौपाने, भरतपुर–१, देवघाट बस्ने ५९ वर्षीया तुलसा पोखरेल, काठमाडौँ महानगर–३, कीर्तिपुर बस्ने ५० वर्षीय महेशराम महर्जन, राप्ती–७ बस्ने ३१ वर्षीया विष्णु कंँडेल, भरतपुर–५ बस्ने २८ वर्षीय विज्ञान कँडेल, सर्लाहीको मोहितपुर–४ बस्ने २२ वर्षीय कृष्णनन्द महतो, मोटरसाइकल चालक तनहुँको देवघाट–५ बस्ने ३८ वर्षीय प्रकाश गुरूङ, मोटरसाइकलपछाडि सवार सोही ठाउँका २८ वर्षीय इन्द्र आलेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, अन्य घाइतेहरु राप्ती–१२ बस्ने २३ वर्षीया सपना कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय रविन श्रेष्ठको नेसनल सिटी हस्पिटल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये उपचारपश्चात् सात जना डिस्चार्ज भई गएको र माइक्रो चालक रामेछापको दोरम्बा–७ बस्ने ३७ वर्षीय खड्कबहादुर नगरकोटी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।