पश्चिम चितवनमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट

चितवन । पश्चिम चितवनमा किसानले खेतमै ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका छन् । तरकारी बिक्री नभएपछि श्रमको ज्याला र ढुवानी भाडासमेत नउठ्ने भएपछि किसानले तरकारी नष्ट गरेका हुन् ।
लाखौँ खर्चगरी उत्पादन गरेको तरकारीको पछिल्लो समय मूल्य नपाएपछि शनिबार पश्चिम चितवनका दुई किसानले एकसाथ तरकारीखेतीमा ट्रयाक्टर लगाएका हुन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजार भाउ नपाएपछि भरतपुर–२६, दिव्यनगरका नवदत्त अधिकारी र जयराम दराईले काउली, बन्दाकोभी र फर्सीमा ट्रयाक्टर लगाएका थिए ।
केही दिनअघि सोही भरतपुर–२६ का दीपक तिमल्सिनाले तीन बिघाको फर्सी र सोही स्थानकै वसन्त खतिवडाले दुई बिघामा लगाएको फर्सी नष्ट गरेका थिए । त्यसरी नै केही दिनअघि भरतपुर–२४, नयाँबस्तीमा रहेको केरूङ्गा ताजा तरकारी तथा फलफूल सहकारी संस्थामा आबद्ध किसानहरुले खेतको तरकारी ट्रयाक्टरले जोतेर नष्ट गरेका थिए ।
कृषक नवदत्त अधिकारीले २१ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको फूलकोभी नष्ट गरेको बताए । तरकारी बारीबाट नउठेपछि र छिप्पिन थालेपछि ट्रयाक्टर लगाएर नष्ट गरेको उनले बताए । बारीमा लगाएको बन्दाकोभी, फर्सीलगायत तरकारीको मूल्य नपाएको भन्दै २१ वर्षदेखि कृषि पेसामा संलग्न उनले सधैँ यस्तै भए तरकारीखेतीबाट अब हात धुनुपर्ने अवस्था आउने बताए ।
उनले चार बिघामा तरकारी लगाएकोमा केहीमा रहेको सिमी र अरुमा रहेको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेकोले कुहिएर जान लागेको बताए । काउलीले बजार नपाएपछि ट्रयाक्टरले जोत्नुको विकल्प नभएको हो ।
तरकारी नबिकेपछि करिब ३५ लाखबराबरको नोक्सान भएको उनले बताए । करिब बीस लाखको लगानीमा २१ कठ्ठामा काउली लगाएको तर पटकपटक बजार पठाउनका लागि ताकेता गर्दा पनि काउली बिक्री नहुने भएपछि जोत्न बाध्य भएको उनले बताए ।
यस्तै जयराम दराईले पनि छ कठ्ठामा लगाएको फर्सी नष्ट गरेका हुन् । बजारमा फूलकोभीको मूल्य प्रतिकेजी १० हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो ।
विगत २० वर्षदेखि निरन्तर तरकारीखेती गर्दै आएका शक्तिस्वर कृषि फार्म भरतपुर–२६, खत्रौलीका व्यावसायिक कृषक दीपक तिमल्सिनाले तीन बिघाको फर्सी नष्ट गरेका छन् । उनले पश्चिम चितवनमा ३५ कठ्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन् ।
यस्तै, भरतपुर–२६ का वसन्त खतिवडा विगत लामो समयदेखि कागतीखेतीमा सक्रिय रहँदै आएका छन् । तर, यसै वर्ष कागतीखेती छोडेर तरकारीखेती सुरू गरेका थिए ।
अहिले तरकारीखेती गर्ने किसान दयनीय अवस्थामा पुगेको भरतपुर–२६ का नारायण ढकाल बताउँछन् । भारतीय उत्पादनका कारण नेपालमा तरकारीखेती गर्न मुस्किल भएको उनले बताए ।