रत्ननगरको बजार क्षेत्रमा हाइ–मास्ट र स्ट्रिट लाइट जडान तीव्र

केशव

असार १, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिकाले ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक र सुरक्षित बनाउन आधुनिक सडक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । हाल मुख्य बजार क्षेत्रमा हाइ–मास्ट र स्ट्रिट लाइट जडानको काम द्रुत गतिमा भइरहेको छ ।

यो परियोजनाले रातको समयमा सडक सुरक्षा र सौन्दर्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको नगरप्रमुख प्रलाद सापकोटाले बताए । यो अभियानमार्फत नगरवासीलाई उज्यालो र सुरक्षित वातावरण प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न लागिएको बताए उनले ।

‘हामीले रत्ननगरलाई सुरक्षित र सुन्दर बनाउने वाचा गरेका थियौँ । सोहीअनुसार बत्ती जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ’, उनले भने, ‘यो परियोजना रत्ननगरको विकास र समृद्धिका लागि कोशेढुङ्गा साबित हुने विश्वास लिएको छु ।’

नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत निपनी चोक, बकुलहर चोक, सौराहा चोक र टाँडी चोकमा १६ मिटर उचाइका चार हाइ–मास्ट लाइट जडान गरिने छ ।

यस्तै, बकुलहर चोकदेखि टाँडी चोकसम्मको सडक डिभाइडरमा ७२ वटा आधुनिक स्ट्रिट लाइट र शान्ति चोक, जयमंगला चोक, दोबाटो चोक र गैँडाचोकमा १० मिटर उचाइका मिनी–मास्ट लाइट जडान हुने छन् । ‘यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो बनाउनुका साथै रातको समयमा आवतजावतलाई सुरक्षित र सहज बनाउनेछन्’, इन्जिनियर गिरीले भने ।

परियोजनाको कुल लागत दुई करोड ८६ लाख १८ हजार १७५ रुपैयाँ रहेको गिरीले बताए । निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी आगामी दुई महिनामा सबै बत्ती सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । ‘हामीले रत्ननगरका सडकलाई उज्यालो बनाउने कार्य समयमै पूरा गर्नेछौँ’, उनले भने ।

यो परियोजनाले रत्ननगरको सौन्दर्य वृद्धि गर्नुका साथै रातको समयमा सडक दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।