खाद्य स्वतन्त्रता र सुरक्षासम्बन्धी अभिमुखीकरण

रत्ननगर । बागमती प्रदेश स्वास्थ्यसेवा निर्देशनालय, हेटौँडाको आयोजनामा खाद्य, सरसफाइ, खाद्य सुरक्षा र खाद्यजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सौराहामा सम्पन्न भएको छ ।
बागमती प्रदेश स्वास्थ्यसेवा निर्देशनालय, हेटौँडाका जनस्वास्थ्य प्रशासक सञ्जु रायको अध्यक्षता एवं रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गुरूप्रसाद कँडेलले सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्यसेवा निर्देशनालय, हेटौँडाका जनस्वास्थ्य प्रशासक सञ्जु राय, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले खाद्य स्वतन्त्रता र सुरक्षाका सन्दर्भमा आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।
सौराहाका होटल, रेस्टुरेन्ट तथा खाजा पसल सञ्चालन गर्दै आएका सरोकारवालाहरुका लागि अभिमुखीकरण गरिएको हो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र पौडेल र खाद्य निरीक्षक वन्दना पन्तले सहजीकरण गरेका थिए । सो क्रममा प्रशिक्षकहरुले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, खाद्यसम्बन्धी हक, उपभोक्ताको हक, खाद्य स्वच्छता नीति र खाद्य गुणस्तरबारे प्रस्तुति राखेका थिए ।