भरतपुर महानगरको पूरक बजेट १४ करोड २८ लाख

केशव

पुस २९, २०८१

share this:

चितवन । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रूपैयाँको पूरक बजेट ल्याएको छ । आइतबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६औँ नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो ।

एक सय चारवटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रू १४ करोड २८ लाख ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको बताए ।

बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पु¥याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाई सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए ।

चालू आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उनले बताए ।

महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि छ अर्ब ५६ करोड एक लाख ४३ हजार बजेट विनियोजन गरेको थियो ।
नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गरिन् । उनले भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणाधीन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रक्रिया सुरू भएको बताइन् ।

महानगर प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको, एसियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइन् । यस्तै उनले ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा एक हजार तीन किमी कालोपत्रे सडक निर्माण भएको बताइन् । महानगरको प्रशासकीय भवन, सिटी हल, जङ्गली जनावरबाट मानव तथा पशु बालीमा हुने क्षति न्यूनीकरणको लागि फाउन्डेसनसहितको मेस जाली निर्माण भइरहेको उनले उल्लेख गरिन् ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले दूध उत्पादनमा उल्लेख्य वृद्धि भई आमकृषकको आर्थिक अवस्थामा सुधार आएको उनले बताइन् । उनले विभिन्न निकायसँगको समन्वयमा सात हजार नौ सय बिगाहा क्षेत्रफलमा सिंचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिंचाइ आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको जानकारी दिइन् ।

संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मको छात्रवृत्तिलाई लक्षित वर्गकेन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गरिन् । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका आठ सय ९१ जना छोरीहरुको बालउमङ्ग जीवन बिमा गरिएको उनको भनाइ छ ।

भरतपुर भ्रमण वर्ष–२०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र दुई लाख ८४ हजार बाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेको महानगर प्रमुख दाहालको दाबी छ ।
महानगरको फोहोर व्यवस्थापनका लागि भ्याटबाहेक रू सात करोड ६१ लाखमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरू भएको प्रमुख दाहालले बताइन् ।

अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका चार हजार नौ सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरुलाई शैक्षिक प्रोत्साहन कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गरिएको उनको भनाइ थियो ।