माघ १२ गतेदेखि राइजिङ भरतपुर गोल्डकप हुँदै

केशव

माघ ५, २०८१

share this:

भरतपुर । राइजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुने भएको छ । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टोली सहभागी हुने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब नेपाल पुलिससहित सरस्वती युथ क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, आबुखैरेनी नगरपालिका, गैँडाकोट फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, भरतपुर–२४ खेलकुद विकास समिति र प्याराडाइज युथ क्लब गरी आठ टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीले दस तथा हरेक दिनको प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो चरणमा ५० रुपैयाँ, सेमिफाइनलमा एक सय रुपैयाँ तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिने क्लबका अध्यक्ष कार्कीले बताए ।

क्लबले यसअघि गत वर्ष भरतपुर च्याम्पियनसिप कप आयोजना गरेको थियो । उक्त प्रतियोगिता परिमार्जन गरेर थप बृहत् गर्ने योजनासहित यसपटक गोल्डकप आयोजना गरिएको कार्कीको भनाइ थियो । पत्रकार सम्मेलनमा नवनिर्वाचित चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले प्रतियोगिताको सफलताको कामना गरे ।