रोटरी दिवसमा ‘विद्यार्थीहरुमा सामाजिक सञ्जालको प्रभाव’ विषयक गोष्ठी

केशव

फाल्गुन १२, २०८१

share this:

भरतपुर । रोटरी क्लब चितवनको आयोजनामा रोटरी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा ‘विद्यार्थीहरुमा सामाजिक सञ्जालको प्रभाव’ विषयक गोष्ठी बालकुमारी मावि, नारायणगढमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुखअतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का पूर्वगभर्नर रवीन्द्र पियाले रोटरी क्लबले अन्तर्राष्ट्रियरूपमा चार सूत्रको कसीलाई आधार मानेर सबैले व्यवहार गर्ने हो भने सबै समस्याहरु समाधान हुने बताए ।

गोष्ठीका स्रोत व्यक्ति वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले सामाजिक सञ्जालका राम्रा पक्ष र नराम्रा पक्षहरुबारे प्रष्ट पार्दै अधिक प्रयोगले मानसिक स्वास्थ्यमा असर गर्ने र व्यक्तिगत एवम् सामाजिकरूपमा पीडित हुने अवस्था आउन सक्ने भन्दै अभिभावकसमेत सचेत हुँदै व्यवहार परिवर्तन गर्नुपर्ने सल्लाह दिए ।

यस्तै, अर्का स्रोत व्यक्ति जिल्ला प्रहरी कार्यालय चितवनका महिला बालबालिका एवम् साइबर सिक्युरिटी हेर्ने प्रहरी निरीक्षक निलम तामाङले विशेषतः चितवनमा देखिएका साइबरसम्बन्धी उजुरी र कामकारबाहीहरुबारे विभिन्न घटनाक्रमहरुबारे प्रकाश पारिन् ।

उनले धेरै घटनाहरु यौन उत्पीडन, आर्थिक प्रलोभन, चिट्ठा परेको प्रलोभनमा पारेर हुने ठगी, पासवर्ड र कोर्डहरु अनाधिकृतरूपमा दिने गर्नाले साइबर अपराध बढेको बताइन् । उनले सुरक्षित ढङ्गले बिनालोभ सामाजिक सञ्जालमा आएका कुराहरुलाई दुईपटक निश्चित गरेर अघि बढन र समस्या परिहाले समयमै प्रहरीको सहयोग लिन अनुरोध गरिन् ।

अर्का स्रोत व्यक्ति वरिष्ठ अधिवक्ता गोपिलाल देवकोटाले साइबर अपराध कसरी हुन्छ भन्ने विषयमा प्रष्ट पार्दै कसैले लेखेको गलत कुरालाई मन प¥यो भन्दैमा हल्का ढङ्गले लाइक÷शेयर गर्दा पनि अपराधको भागिदार हुनुपर्ने भएकाले सचेत हुन अनुरोध गरे ।

कार्यक्रममा रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले रोटरी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित गोष्ठीले युवा विद्यार्थीहरुमा सामाजिक सञ्जालका नकारात्मक पक्षहरुबारे सचेत बनाउँदै जीवन उपयोगी र सामाजिक उतरदायित्वसहितको सामाजिक सञ्जालमा रमाउन यो कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गरे ।

सन् १९०५ मा अमेरिकाको सिकागोबाट सुरू भएको रोटरी अभियानका बारेमा संक्षिप्त जानकारी दिँदै यो जागरण अभियान सुरूवात गरेको जानकारी गराए । कार्यक्रममा करिब एकसय जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रोटरी क्लबका सचिव पुरुषोत्तम रिजालले गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘बर्थडे केक’ काटेर खुसियाली मनाइएको थियो । कार्यक्रममा डिजिटल इम्पावरमेन्ट सोसाइटीले प्राविधिक सहयोग गरेको थियो ।