भरतपुर महानगरको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ : भरतपुरमा भएको विकासको प्रशंसा

केशव

चैत्र २३, २०८१

share this:

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।

शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाइमा वडावासीहरुले भरतपुरमा भएको विकासको प्रशंसा गरे । उनीहरुले महानगरले थप सुशासन गर्नुपर्ने र अतिआवश्यक योजनालाई अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चार महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । दोस्रो चौमासिकमा गौतमबुद्ध रङ्गशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला, सिटीहल, केरुङ्गा नाला सौन्दर्यकरण, मेसजाली फाउन्डेसन, छ लेन सडक, फोहरमैला व्यवस्थापन, उज्यालो भरतपुर कार्यक्रमलगायतको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकलाई प्रश्नको उत्तर दिँदै प्रमुख रेनु दाहालले भरतपुरमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन मह¤वका योजनाहरु एकसाथ अघि बढाइएको उल्लेख गरिन् । प्रमुख दाहालले अबको बाँकी कार्यकालमा धेरै कामहरु अगाडि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउने प्रयासमा महानगर अघि बढ्ने उनको भनाइ थियो ।

प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउनेगरी काम गर्न निर्देशन दिइन् ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनाबद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दोस्रो चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष २०८१/०८२ को विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रुपैयाँ रहेकोमा १ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको उल्लेख गरे । यो कुल बजेटको ३६ दशमलव ४९ प्रतिशत हो ।

यसैगरी महानगरले आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे ।