भद्रकाली माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केशव

असार २, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा भद्रकाली माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

‘शत्प्रतिशत घटना दर्ता अभियानमा रत्ननगर नगरपालिका’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता घटनाहरु ३५ दिनभित्रै दर्ता गराउनुपर्ने कानुनी प्रावधान रहेको पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए । उनले सही सूचना र तथ्यमा आधारित रहेर घटना दर्ता गराउनुपर्ने अन्यथा सूचक र स्थानीय पञ्जीकाधिकारीले कानुनी अड्चन बेहोर्नुपर्ने भएकाले जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।

विवाह दर्ताको सबालमा २० वर्षमुनिको विवाहलाई कानुनले बालविवाह मानेकाले यस्तो विवाह गर्न नहुने र दर्ता पनि गर्न नहुने उनले बताए । यस्तै, बहुविवाहको अवस्थामा पनि सम्बन्धविच्छेद वा मृत्यु दर्ता प्रमाणित गरेरमात्र विवाह दर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालसहित शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थीहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका विषयमा आआफ्ना जिज्ञासा राखेका थिए ।

बेवारिसेको हकमा बाबुआमा दुवैको नाम थाहा नभए वडाध्यक्ष सूचक बनेर जन्मदर्ता गराउनुपर्ने र बंशजको आधारमा नागरिकता दिनुपर्ने तर आमाबाबुको महलमा खाली छाड्नुपर्ने, एकल महिलाको हकमा पनि आमा नै सूचक बनेर बालबालिकाको जन्मदर्ता गराउन सकिने तर बाबु विदेशी रहेको अवस्थामा अंगीकृत नागरिकता प्रदान गर्न सकिने उनले जानकारी दिए ।

रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु चीजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सरिता गुरूङ, वडा सचिव मन्जु पौडेल, पिठुवा स्वास्थ्यचौकी प्रमुख नरहरि श्याम शर्मालगायतको सहभागिता रहेको थियो ।

अभियानअन्तर्गत असार असार ३ गते रत्ननगर–८ स्थित चित्रसारी माध्यमिक विद्यालय र असार ५ गते रत्ननगर–८ स्थित मालपुर माध्यमिक विद्यालयमा घटना दर्ता कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।

यसअघि पञ्जीकरण शाखाले नगरभित्रका विभिन्न वडामा पुगेर सम्बन्धित टोलविकास संस्थाहरूसँग समन्वय गरी स्थानीयवासीको सक्रिय सहभागितामा घट्ना दर्ता तथा पञ्जीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।