असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

केशव

असार १०, २०८२

share this:

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । वर्षात्सँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो ।

निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात् हटेसँगै चाडपर्व सुरू हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ । वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष असार १६ गतेदेखि बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।

उनका अनुसार वर्षाले बिगारेको सडक मर्मतसम्भार गरेर जिप सफारी खुला गरिन्छ । निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकनलगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने उनले जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ । त्यसका कारण निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीवनयापन सहज हुने उनले जानकारी दिए ।

वर्षायाममा बाढी आउने र खोला–खोल्सा बढ्ने, रुख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाडी बढेर जंगली जनावरसमेत नदेखिने उनको भनाइ छ । निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् ।