भ्रष्टाचारविरूद्ध अभियानमा सरोकारवालाबीच अन्तर्क्रिया

रत्ननगर । भ्रष्टाचारविरूद्ध अभियान चितवनको आयोजनामा रत्ननगर नगरपालिकामा सरोकारवालाबीच अन्तर्क्रिया गरिएको छ । सुशासनका लागि रत्ननगरका वडाहरुमा भ्रष्टाचारविरूद्ध सहयोगी समूह गठन गर्ने विषयमा अन्तर्क्रिया गरिएको हो ।
भ्रष्टाचारविरूद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले विसं २०६५ सालदेखि निरन्तररुपमा स्थानीय सरकारले प्रदान गर्ने सेवा प्रवाह, गतिविधि र विकास निर्माणलगायतका काममा अनियमितता भए/नभएको विषयमा खबरदारी गर्न र सुशासन कायम राख्न आमनागरिकलाई सचेत गराउन अभियान सञ्चालन गर्दै आएको बताए ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आबद्ध रहेको सो संस्थाबाट विभिन्न संस्थाहरुबाट भइरहेका सेवा प्रवाहबारे सर्वसाधारणलाई चेतना अभिवृद्धि गर्ने, अनियमितता हुने छिद्रहरु खोज्ने, वाचडगको रुपमा काम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवालाहरुलाई सुझाव दिने काम भइरहेको उनले बताए ।
अध्यक्ष श्रेष्ठले भरतपुर महानगरपालिकाका २९ वटै वडामा भ्रष्टाचारविरूद्ध सहयोगी समूह गठन गरी सेवा प्रदायक र सेवाग्राहीबीच अन्तक्र्रिया र सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । अब भ्रष्टाचारविरूद्ध अभियान रत्ननगरमार्फत रत्ननगरका १६ वटै वडामा सहयोगी समूह गठन गरी सुशासन प्रवर्द्धनका लागि काम गर्नका लागि अन्तर्क्रिया गरिएको उनले बताए ।
युवाहरुमा उत्प्रेरणा जागृत गर्न आफू ८७ वर्षको उमेरमा पनि यही अभियान बोकेर हिँडिरहेको बताउँदै नयाँ जोस, जाँगर र उत्साहका साथ युवाले सुशासनका लागि काम गर्नुपर्नेमा उनले जोड दिए । भ्रष्टाचारविरूद्ध अभियान हालसम्म ४६ जिल्लामा पुगेको उनले जानकारी दिए ।
संस्थामा आबद्ध साथीहरु निस्वार्थरुपमा स्वयंसेवकको भूमिकामा काम गर्दै आएको र आर्थिक स्रोत कहीँकतैबाट नआउने भएकाले आआफ्नै खर्चमा हिँडिरहेको उनले बताए । पालिकाहरुसँग नै सहयोग मागेर उनीहरुकै विरूद्धमा काम गर्न व्यावहारिकरुपमा कठिन हुने भएकाले आफ्नो संस्था आर्थिकरुपमा भने कमजोर रहेको उनको भनाइ थियो ।
‘सेवानिवृत्त भएका, निस्वार्थ समाजसेवामा लागेका र सुशासन चाहनेहरुले स्वतःस्फूर्त केही सहयोग गर्नुहुन्छ’, उनले भने, ‘परोपकारी व्यक्तिबाट प्राप्त सहयोग हामीले कोषमा राखेका छौँ, त्यसको व्याज मात्र हामी खर्च गर्छौं ।’
भ्रष्टाचारविरूद्ध अभियान रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा रामकृष्ण सिंखडा, नीलकण्ठ ढुङ्गाना, सीतादेवी शर्मा, निजानन्द मल्ल, हरिभक्त घिमिरे, विजय सुवेदी, लक्ष्मी चौधरीलगायतले आआफ्नो विचार राखेका थिए ।