रत्ननगर–८ का १९ किसानलाई भैंसी तथा विविध सामग्री हस्तान्तरण

केशव

असार २१, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिकाको समुदायमा आधारित ‘एक वडा : एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत रत्ननगर–८ का किसानहरुलाई भैंसी प्रर्वद्धन परियोजनामार्फत भैंसी तथा कृषि उपकरण र सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

रत्ननगर–८ को प्रगतिशील कृषक समूहले आयोजना गरेको कार्यक्रममा नौ किसानको गोठ निर्माण, १९ किसानलाई भैंसी, ३५ किसानलाई काउ म्याट, २७ किसानलाई ह्वील व्यारो र पाँच किसानलाई चापा कटर मेसिन वितरण गरिएको हो । सो अवसरमा किसानलाई दैनिकरुपमा आवश्यक पर्ने बाल्टी, क्यान, जालीलगायतका सामग्रीहरुसमेत वितरण गरिएको थियो ।

किसानहरुलाई भैंसी तथा कृषि उपकरण हस्तान्तरण गर्दै रत्ननगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख यादवप्रसाद पाठकले किसानलाई व्यावसायिक बनाउन र कृषि तथा पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न पशुसेवा कार्यालय भरतपुरको आर्थिक सहयोग तथा रत्ननगर नगरपालिकाको लागत साझेदारीमा भैंसी तथा सामग्रीहरु वितरण गरिएको बताए ।

उनले किसानले पाएको अनुदानको सहीरूपमा सदुपयोग गरी अर्थोपार्जनसहित उदाहरणीय बन्न सक्नुपर्ने बताए । नगरपालिकाले समुदायमा आधारित ‘एक वडा : एक कृषि उत्पादन’को नीतिलाई सार्थक बनाउन यसपटक रत्ननगर–८ का किसानलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको बताए ।

कार्यवाहक नगरप्रमुख यादवले किसानले व्यावसायिकरूपमा पशुपालन र कृषि पेसालाई अगाडि बढाउन घाँसखेतीतर्फ लाग्नुपर्ने, पराल जोगाएर आफैँले दाना उत्पादन गर्तेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । बजारको महँगो दाना खुवाएर भैंसी पाल्दा किसानलाई फाइदा नहुने र आर्थिकरूपमा पनि टेवा नमिल्ने भएकाले स्वरोजगार बन्दै आर्थिक प्रगति हासिल गर्न सकेमात्रै नगरपालिकाले गरेको लगानीको अर्थ रहने उनको भनाइ थियो ।

आर्थिक विकास समितिका संयोजक एवम् रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलले कृषि र पशुपालन पेसाप्रति गर्व गर्दै अरु किसानलाई पनि आकर्षित गर्नेगरी काम गर्न आग्रह गरे । नगरपालिकाले गरेको लगानी हेर्नलायक र उपलब्धिमूलक बनाउन किसानहरुले अनुदानको सही सदुपयोग गरी प्रगति गरेको हेर्न आतुर चाहेको उनले बताए । उनले भने, ‘आज अनुदानमा भैंसी लिने र भोलि बेच्ने प्रवृत्ति नहोस् । वास्तवमै कृषि पेसा गर्नेका लागि अर्कोपटक पनि अनुदान पाइन्छ । तर, अनुदानको दुरुपयोग गर्नेका लागि नगरपालिकाले कहिल्यै सहयोग गर्दैन ।’

रत्ननगर–८ का कार्यवाहक वडाध्यक्ष सीता अधिकारीले कृषि तथा पशुपालनलाई सम्मानित पेसाका रुपमा अगाडि बढाउन किसानहरुले इमानदारिता देखाउनुपर्ने बताइन् । रत्ननगर–८ का किसानलाई प्रोत्साहित गर्न वडा र नगरबाट धेरै मेहनत गर्नुपरेको बताउँदै किसानको साथमा स्थानीय सरकारसँगै रहेको अनुभूति दिलाउन यस किसिमको कार्यक्रम ल्याइएको उनले बताइन् ।

अनुदान वितरणअघि वडा सदस्यहरु विष्णुप्रसाद आचार्य, दुर्गा विश्वकर्मा, केदारकुमार श्रेष्ठ र वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीले किसानको गोठ निर्माण तथा भैंसी निरीक्षण गरी किसानहरुको सर्वेक्षण गरेका थिए । १९ वटा भैंसी सम्बन्धित किसानले नै खरिद गरेका हुन् । सोबापतको ८० प्रतिशत भुक्तानी पशुसेवा कार्यालय भरतपुर र रत्ननगर नगरपालिकाले गर्नेछ ।

बागमती प्रदेश सरकारको अनुदानमा पशुसेवा कार्यालयमार्फत ६० प्रतिशत, रत्ननगर नगरापालिकाको २० प्रतिशत र किसानको २० प्रतिशत लागत साझेदारीमा समुदायमा आधारित किसानलाई गोठ निर्माण, भैंसी र विविध सामग्री प्रदान गरिएको पशुपक्षी शाखाका डा. लसता श्रेष्ठले जानकारी दिइन् ।

कृषि तथा पशुपक्षी शाखाका प्रमुख कृषि विज्ञ प्रवीन लामाले अनुदान कार्यक्रम लक्षित किसानसम्म पुगेको र ‘गोठ–गोठमा भेटरिनरी र खेत–खेतमा प्राविधिक’ अभियानबाट कृषि तथा पशुपालन गर्ने किसान लाभान्वित भइरहेको बताए । उनले वितरण गरिएका अनुदानसहित लाभग्राही किसानको विवरण नगरको वेभसाइट र कृषि तथा पशुपक्षी शाखाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको जानकारी दिए ।

वास्तविक कृषि र पशुपालन गर्नेका लागि नगरको अनुदान वरदान साबित भैरहेको तर कतिपय किसानले पाएका अनुदानको दुरुपयोगले गर्दा समग्र अनुदान कार्यक्रममाथि नै प्रश्न उठ्ने गरेको उनले गुनासो गरे ।