चितवन महोत्सवमा अन्तर माविस्तरीय नृत्य प्रतियोगिता हुने

भरतपुर । नारायणगढस्थित नारायणी नदीकिनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित १५ औँ संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको एघारौँ दिन अर्थात् आज माघ ६ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार शनिबारदेखि सुरू भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता आइतबार जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुनेछ । यसैगरी आइतबार कलाकार रिता थापा मगर र जादुगर बलराम सरकारको विशेष प्रस्तुित रहने छ । आज अन्तरमाविस्तरीय नृत्य प्रतियोगिता हुँदैछ ।
यसैगरी नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति, थारु कल्याणकारी सभा चितवन, नेपाल दराई उत्थान चितवन, प्रतिभा मञ्च विजेता कावासोती, भुजेल सेवा समिति चितवन र केडी डान्स सेन्टर नारायणगढको प्रस्तुति रहने छ ।
पुस २५ गतेदेखि सुरू भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सवअन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्नेछ । हरेकदिन बिहान ८ः०० बजेबाट राति १०ः०० बजेसम्म सञ्चालन हुनेछ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।