प्याराडाइज राइजिङ भरतपुर गोल्डकपको फाइनलमा

केशव

माघ १६, २०८१

share this:

भरतपुर । प्याराडाइज युथ क्लब मिन्नानो राइजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आबुँखैरेनी गाउँपालिकालाई हराउँदै प्याराडाइज उपाधि नजिक पुगेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा प्याराडाइज १(० ले विजयी भएको हो । उसको जितमा गिल्सन लिम्बुले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको २० औँ मिनेटमा गिल्सनले प्याराडाइजका लागि निर्णायक गोल गरे । उनी नै प्लेयर अफ द म्याच चुनिए । प्याराडाइजले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार बागमती युथ क्लब सर्लाही र सरस्वती क्लब काठमाडौँ भिड्नेछ । खेल दिउँसो ३ः०० बजे हुनेछ ।

प्रतियोगिताको फाइनल १९ गते शनिबार हुनेछ । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ ।