चितवनका प्रहरी प्रमुखको स्वागत तथा खेलकुद सामग्री प्रदान

भरतपुर । चितवन जिल्ला खेलकुद विकास समितिले चितवनका नयाँ प्रहरी प्रमुखलाई स्वागत गरेको छ । समितिले सोमबार प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई स्वागत गरेको हो ।
एसपी पुरीकै कार्यकक्षमा आयोजित एक कार्यक्रमबीच समितिका अध्यक्ष राजन कार्की र सचिव रामजी ढकालले स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष कार्कीले एसपी पुरीको चितवन कार्यकालको सफलताको कामना गरे ।
यस्तै, सोही कार्यक्रममा खेलकुद विकास समितिले जिल्ला प्रहरी कार्यालय चितवनलाई खेल सामग्री सहयोग गरेको छ । समितिले प्रहरी कार्यालयलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याटमिन्टन कक र जाली सहयोग गरेको हो । उक्त सामग्री समितिका अध्यक्ष कार्कीले एसपी पुरीलाई हस्तान्तरण गरे ।
कार्यालयका प्रहरीहरुलाई खेल खेल्ने वातावरण बनाउन खेल सामग्री सहयोग गरिएको कार्कीले बताए । एसपी पुरीले उक्त खेल सामग्रीले कार्यालयका प्रहरीहरुलाई विभिन्न खेल खेल्न सहज हुने बताए । उनले प्रहरी कार्यालयभित्र खेल खेल्नका लागि आवश्यक संरचना निर्माण एवम् मर्मतको काम भइरहेको जानकारी दिए ।