व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको छ : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन भएको बताएका छन् ।
पुलचोक–गोन्द्राङ छ लेन सडकको भरतपुरमा उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले पछिल्ला वर्षमा धेरै काम भएको तर जनताको अपेक्षाअनुसार काम गर्न भने समय लाग्ने बताए । आफ्नै लगानीमा काम गर्न सकिन्छ भन्ने बलियो उदाहारण यो सडकले दिएको उनको भनाइ थियो ।
“अब सडक बनाउने अनि भत्काउने गर्न हुँदैन । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम गर्नुपर्छ । संघीयताको भावना भनेकै संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो”, उनले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले यसरी नै पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नतिको काम गरिरहेको बताए । उनले यो सडक सरकारकै लगानीमा बन्दै गरेको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सडक निर्माणका क्रममा एकैपटक सबै पूर्वाधार रहने गरी गृहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता परियोजना बनाउँदा धेरै बाधा व्यवधान आउने भन्दै सबै मिलेर निर्माणका काम गर्नुपर्ने बताए । यो बागमती प्रदेशकै नमुना सडक भएको उनले बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पहल कदमी महानगरले लिएकाले यो सडक निर्माण सम्पन्न हुँदै गर्दा सबैभन्दा खुसी आफू र महानगरवासी भएको बताइन् । सडक निर्माणका लागि महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर आग्रह गरेपछि काम भएको उनले जानकारी दिइन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हालसम्म देशभर एक लाख पाँच हजारभन्दा बढी किलोमिटर सडक कालोपत्र भएको बताए । विसं २०६२/६३ मा ६५ हजार किलोमिटर सडक कालोपत्र भएकामा २०४७ सालअघि २५ हजार किलोमिटर मात्र सडक कालोपत्र भएको उनले जानकारी दिए ।
देशका ७७ जिल्लाका सदरमुकाममा यातायातका साधन पुगेको र १९ पालिकाको कार्यालय मात्र सडक सञ्जालसँग जोडिन बाँकी रहेको सचिव शर्माले बताए । ६ दशमलव ८ किलोमिटर लम्बाइ भएको उक्त सडक खण्ड रु एक अर्ब १३ करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो ।