नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधारः अग्नि सापकोटा

रासस

फाल्गुन २२, २०८०

share this:

धुलिखेल – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गरे।

‘पहिला कम्युनिष्ट पार्टीको एकता भए पनि त्यसलाई रक्षा गर्न सकिएको थिएन। अहिले त्यसबेलाको अवस्थाको गम्भीर समीक्षासहित अगाडि बढ्न तथा एकतालाई अटुट राख्न सहयोग पुग्नेछ,’ उनले भने।

बनेपामा आज भएको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयको छलफलमा उनले नयाँ गठबन्धन ‘कोर्स करेक्सन’ भएको बताए।