विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडि बढाउन आग्रह

केशव

चैत्र २२, २०८०

share this:

भरतपुर । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडि बढाउन संस्थागत र सामुदायिक विद्यालयहरुलाई आग्रह गरेका छन् ।

आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर–१४ को ५६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई बिहीबार सम्बोधन गर्दै उपप्रमुख अधिकारीले शैक्षिक सत्र सुरू भइसकेको उल्लेख गर्दै यस महान् अभियानमा एकजुट भएर लाग्न सबै विद्यालयहरुलाई आग्रह गरेका हुन् ।

शैक्षिक सत्रको नाममा तछाडमछाड हुनेगरी अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि उनले विद्यालयहरुलाई निर्देशन दिएका छन् । विद्यालय जाने उमेर पुगेका तर विद्यालयबाहिर रहेका सबै विद्यार्थीहरुलाई विद्यार्थी भर्ना अभियानमा जोडन आवश्यक रहेको बताउँदै ‘म छुटेको छैन’ भन्ने नारालाई अगाडि सारेर अभियानमा लाग्न सबैमा अनुरोध गरे ।

भरतपुर महानगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको बताउँदै उपप्रमुख अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेर विद्यार्थी संख्या बढाउन ढिला भइसकेको प्रष्ट पारे ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा, भरतपुर–१४ का वडाध्यक्ष राजेन्द्र साँखी, कार्यपालिका सदस्य विष्णुबहादुर भुजेल, बुद्धिजीवी सन्तराम महतो, विशिष्ट चन्दादाता टेकबहादुर जिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । भरतपुर–१४ मा चारवटा सामुदायिक विद्यालय रहेका छन् ।

कार्यक्रममा विभिन्न विधामा छात्रवृत्ति वितरण गर्नुका साथै उत्कृष्ट असल अभिभावक पुरस्कार, उत्कृष्ट शिक्षक तथा शिक्षिका पुरस्कार तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियोे । सांस्कृतिक कार्यक्रममा गायिका अपेक्षा गिरीले आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।