समाजसेवी भट्टद्वारा ८७ विद्यार्थीलाई ट्रयाकसुट वितरण

चितवन । भरतपुर महानगरपालिका वडा नं–१६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् । उनले वडामा रहेको श्री आधारभूत विद्यालय ब्रह्मपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिएका हुन् । शुक्रबार स्कुल परिसरमा आयोजित कार्यक्रममा उनले ट्याकसुट वितरण गरेका थिए ।
कार्यक्रममा समाजसेवी भट्टले आफ्नो वडामा रहेका विद्यालयका विपन्न विद्यार्थीहरुको अध्ययन–अध्यापनमा सहयोग पुगोस् भन्ने हेतुले ट्रयाकसुट वितरण गरिएको बताए । ‘यो वडाका कुनै पनि विद्यार्थीले आर्थिक अभावमा शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सहयोग गरेको हुंँ’, भट्टले भने, ‘यसअघि पनि मैले वडाका अन्य विद्यालयहरुमा पनि शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छु ।’
उनले आगामी दिनमा पनि विद्यालयलाई सहयोग निरन्तर दिने बताउंँदै अक्षयकोषको लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजसेवी भट्ट विगत २० वर्षदेखि विभिन्न संस्था तथा कमजोर आर्थिक अवस्था भएका समुदायलाई सहयोग गर्दै आएका छन् । उनी सेतीदवी सामुदायिक वनको पूर्वअध्यक्ष एवं सानोगढी खानेपानी उपभोक्ता समितिको अध्यक्ष हुन् ।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले यो सहयोगले विद्यार्थीलाई विद्यालयमा नियमित आउन सहयोग पुगेको बताए । ‘विद्यालयमा सबैजसो विद्यार्थीहरु न्यून आर्थिक अवस्थाका रहेको भन्दै उनले भने, ‘यहांँ हुंँदाखाने विद्यार्थीहरुको ९० प्रतिशत बाहुल्यता छ, यो न्यानो कपडा सहयोगले विद्यार्थीलाई हौसला मिल्छ भन्ने ठानेको छु ।’
उनले भट्टको मनकारी मनको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । उनले विद्यालयमा खेलकुद मैदानको अभावका साथै आधुनिक फर्निचर, खेलकुद सामग्री, कम्युटर, प्रोजेक्टर, डिजिटल बोर्डलगायतका प्रविधिको अभाव रहेको जानकारी दिए । सीमित स्रोत साधनबाट विद्यालय सञ्चालन गर्दै आएको भन्दै प्रधानाध्यापक सुवेदीले अन्य दाताबाट पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा सहयोगको कदर गर्दै विद्यालयले भट्टलाई सम्मान गरेको थियो ।
चार कठ्ठा क्षेत्रफलमा मात्र रहेको यस विद्यालयमा दलित, आदिवासी, सीमान्तकृत समुदायले अध्ययन गर्दछन् । कक्षा १ देखि ८ सम्म अध्ययन हुंँदै आएको यस विद्यालयमा २७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर अधिकारीका अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा समितिका सदस्य, अभिभावक, शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।