चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा रत्ननगर–८ स्थित चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता घटनाहरु ३५ दिनभित्रै दर्ता गराउनुपर्ने कानुनी प्रावधान रहेकोले सोहीअनुसार सही सूचना र तथ्यमा आधारित रहेर घटना दर्ता गराउनुपर्ने बताए ।
जन्मदर्ताको हकमा स्वास्थ्य संस्थामा उल्लेख भएको जन्ममिति उल्लेख गरी स्थायी बसोबास गरेको ठाउँबाट ३५ दिनभित्र निःशुल्क दर्ता गर्न सकिने र ३५ दिनपश्चात् जरिवानासमेत तिर्नुपर्ने बताए । उनले बैंक खातादेखि सामाजिक सुरक्षा भत्तासम्म जुनसुकै प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेकाले जन्मदर्तादेखि नै सचेत भएर सही विवरण पेस गरी घटना दर्ता गराउन आग्रह गरे ।
यस्तै, विवाह दर्ताको लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने अन्यथा बालविवाह मानिने र त्यस्तो विवाह बदरयोग्य वा गैरकानुनी हुने उनले बताए । यस्तै, बहुविवाह पनि कानुनतः दण्डनीय हुने र कोही कसैले पनि बहुविवाहलाई प्रश्रय दिन नहुने बताए । तर, श्रीमान्–श्रीमतीको मृत्यु भएमा घरपरिवारको सहमतिमा अदालती विवाह गर्न सकिने उनले बताए ।
यस्तै, सम्बन्धविच्छेदको निर्णय अदालतबाट हुने र श्रीमान्–श्रीमती कुनै एक सूचक भई घटना दर्ता गर्न सकिने पुनः विवाहको सवालमा पनि सम्बन्धविच्छेदको घटना सम्बन्धित पालिकाको वडा कार्यालयमा दर्ता गरेपछि विवाह गर्न सकिने बताए ।
यस्तै, कुनै ठाउँमा स्थायीरुपमा बसेको ६ महिना कटेपछि मात्र बसाइँसराइ गरेको मानिने तर पर्यटकको रुपमा वा आफ्नो घरजग्गा रहेकै आधारमा बसाइँसराइ दर्ता गरिरहनु नपर्ने उनले बताए । यस्तै, मृत्यु दर्ताको सवालमा पनि ३५ दिनभित्र घटना दर्ता गराउँदा पछि आइपर्ने झन्झट बेहोर्न नपर्ने उनले बताए । यस्तै, धर्मपुत्र वा धर्मपुत्री राख्ने सन्दर्भमा पनि अदातलबाटै फैसला हुनुपर्ने प्रावधान रहेको उनले सुनाए ।
बस्ताकोटीले एसइई परीक्षाका लागि २०८२ चैत मसान्तसम्म १४ वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको बताए । बेवारिसेको हकमा बाबुआमा दुवैको नाम थाहा नभए वडाध्यक्ष सूचक बनेर जन्मदर्ता गराउनुपर्ने र बंशजको आधारमा नागरिकता दिनुपर्ने तर आमाबाबुको महलमा खाली छाड्नुपर्ने, एकल महिलाको हकमा पनि आमा नै सूचक बनेर बालबालिकाको जन्मदर्ता गराउन सकिने तर बाबु विदेशी रहेको अवस्थामा अंगीकृत नागरिकता प्रदान गर्न सकिने उनले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर घिमिरे र छात्रछात्राहरुले जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका विषयमा आआफ्ना जिज्ञासा राखेका थिए ।
रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरीले घटना दर्ता गर्दा सानो गल्तीका कारण ठूलो समस्या र कानुनी कारबाही झेल्नुपर्ने भएकाले सबै विद्यार्थीले आफ्नो जन्ममितिअनुसार नै विद्यालयमा भर्ना गर्नुपर्ने र बीचमा नाम परिवर्तन गर्दा विविध समस्या र परीक्षाबाट नै वन्चित हुनुपर्ने बताए । सबै विद्यार्थीले आफ्नो घरपरिवार र टोलछिमेकमा ३५ दिनभित्रै घटना दर्ता गराउनका लागि सचेतना फैलाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वडा सदस्यहरु सीता अधिकारी, दुर्गा विक, केदारकुमार श्रेष्ठ, विष्णुप्रसाद आचार्य, वडा सचिव रुपबहादुर पण्डित क्षेत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम् शिक्षकशिक्षिकालगायतको सहभागिता रहेको थियो ।