रत्ननगर जेसीजले चैत २५ गते सामूहिक व्रतबन्ध गर्ने

केशव

चैत्र १२, २०८१

share this:

रत्ननगर । रत्ननगर जेसीजले यही चैत २५ गते रत्ननगरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना गर्ने भएको छ । रत्ननगर जेसीज र रत्ननगर जुनियर जेसीजको संयुक्त आयोजनामा रत्ननगर–२ स्थित शिवालय मन्दिर परिसरमा सामूहिक व्रतबन्ध गर्न लागिएको हो ।

रत्ननगर जेसीजका अध्यक्ष बाबुराम परियारले समाजमा हुने भड्किलो खर्चलाई मितव्ययिता कायम राख्दै सामाजिक सहिष्णुता र धार्मिक आस्थालाई संरक्षण गर्न सामूहिक व्रतबन्ध गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा बताए ।

उनले चैत २३ गतेसम्म अन्तिम नाम दर्ता गर्न सकिने र हालसम्म १५ जनाले नाम दर्ता गरेको जानकारी दिए । सामूहिक व्रतबन्धका लागि ५ हजार ९९९ रुपैयाँ दर्ता शुल्क तोकिएको र विपन्नको हकमा टोल वा वडाको सिफारिसमा निःशुल्क गरिने बताए ।

कार्यक्रममा बटुकहरुलाई चाहिने पूजा सामग्री, जोगी भेषको वस्त्रका साथै बटुकका परिवारजनलाई भोजन प्रसादको समेत व्यवस्था रहेको अध्यक्ष परियारले जानकारी दिए ।

यस्तै, कार्यक्रम संयोजक सचितराज जोशीले समुदायको सांस्कृतिक पक्षलाई जर्गेना गर्न मितेरी साइनो (मित लगाउने) कार्यक्रम पनि आयोजना गरिएको बताए । पछिल्लो समय मित लगाउने प्रचलन हराउँदै गएकाले सो कार्यक्रम पनि सामूहिक व्रतबन्धसँगै थप गरिएको बताए । सो कार्यक्रममा मन मिल्ने जोसुकैले पनि मितेरी साइनो जोड्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा कार्यकारी उपाध्यक्ष लिपिन्द्र घिमिरे, निर्देशक सुवास पोख्रेल, जुनियर जेसीजका अध्यक्ष निर्मल अधिकारी, पूर्वअध्यक्ष सुवास पोख्रेल, नरहरि पुरीलगायतको सहभागिता रहेको थियो ।