भरतपुर–१५ बालमैत्री वडा घोषणा : दुई वर्षभित्र बालमैत्री पालिका बनाइने

चितवन । भरतपुर महानगरपालिका वडा नं–१५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सो वडालाई महानगरको नवौँ बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा भरतपुर–१५ लाई बालमैत्री वडा घोषणा गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै महानगर प्रमुख दाहालले अबको दुई वर्षभित्र भरतपुर महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्नेगरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन् । उनले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्नेमा जोड दिइन् । देशका ६ महानगरपालिकामध्ये पहिलो सडक मानवमुक्त महानगर घोषणा गर्न पनि सफल भएको उनले स्मरण गरिन् ।
भरतपुर–१५ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघसंस्था तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरिन् । ‘बालमैत्री वडा घोषणा गर्नुमात्र ठूलो विषय होइन’, उनले भनिन्, ‘यसको दीगोपन र निरन्तरता ठूलो विषय हो । वडा नम्बर १५ लाई आजदेखि जिम्मेवारी थपिएको छ ।’
यसैगरी, उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै अघि बढाइरहेको बताए । उनले चालू आर्थिक वर्षभित्र १२ वटा वडालाई बालमैत्री वडा घोषणा गर्नेगरी महानगरपालिका अघि बढेको जानकारी दिए ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि थप जिम्मेवारी थपिएको बताए । राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्राथमिकतामा राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा पहिलो निकाय घरपरिवार भएको उल्लेख गरे ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ‘सहभागिता, विकास, संरक्षण र बाँच्न पाउने अधिकार’ गरी चारवटा खम्बा रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १५ लाई बालमैत्री वडा घोषणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।
उनले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याइन् । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाइ छ । कार्यक्रम भरतपुर–१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।