रत्ननगरमा सुरक्षित आप्रावासनबारे अभिमुखीकरण

रत्ननगर । पूर्वी चितवन रत्ननगरमा सुरक्षित आप्रावासन(सामी) कार्यक्रम सम्बन्धी सरोकारबालाहरु बीच अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
रत्ननगरमा सञ्चालिन सुरक्षित आप्रावासन(सामी) कार्यक्रम अन्तर्गत गरिएको कामहरुको समीक्षा तथा प्रभावकारिताको विषयमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सुरक्षित आप्रावासन(सामी) कार्यक्रमका स्रोत व्यक्ति विश्वास श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सुरक्षित आप्रावासन(समी) कार्यक्रमका जिल्ला संयोजक सुर्यप्रसाद पौडेलले बैदेशिक रोजगारीको बर्तमान अबस्था र स्थानीय तहमा सुरक्षित आप्रावासन कार्यक्रमको प्रभावकारिताको विषयमा सहजीकरण गरेका थिए । उनले राष्ट्रिय रुपमा कामको सिलसिलामा बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या, प्रदेश र स्थानीय तह सम्मको तथ्याङका प्रस्तुत गरेका थिए ।
उनले नेपालबाट श्रमस्विकृति लिएर प्रतिबर्ष पाँच लाख युवायुवती बैदेशिक रोजगारीमा जाने गरेको जानकारी दिए । उनले बैदेशिक रोजगारीले समाजमा पारेको असर र त्यसका सकारात्मक पक्षहरुको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । रत्ननगरमा सामी कार्यक्रमका स्रोत व्यक्ति श्रेष्ठले सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत नगर स्तरमा भएका कामहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कार्यबहाक नगर प्रमुख कुलप्रसाद सापकोटा रहेका थिए ।
सामाजिक विकास समितिका संयोजक वालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु अनन्त अधिकारी, आशिक तामाङ, कृष्ण चौधरी, किरण महतो, सजना महतो, रामकुमार चौधरीसहित विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।