नारायणी नदीकिनारमा बृहत् योग शिविर सम्पन्न

केशव

असार ३, २०८१

share this:

चितवन । भारतीय महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा दसौँ अन्तर्राष्ट्रिय योग दिवस—२०२४ को अवसरमा सोमबार चितवनको नारायणगढस्थित नारायणी नदीकिनारमा बृहत् योग शिविर सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजकलाई धन्यवाद दिँदै भरतपुरमा शिविर सञ्चालन हुनु गौरवको विषय भएको बताइन् । उनले स्वास्थ्य जीवनको लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग र अनुशासनका लागि योग आवश्यक रहेको भन्दै योग गरौँ स्वस्थ रहौँ भन्ने मूलनारा सबैले अवलम्बन गर्नुपर्ने उल्लेख गरिन् ।

देशकै केन्द्र भागमा रहेको भरतपुर महानगरपालिका मेडिकल सिटी भनेर चिनिने भए तापनि सकेसम्म अस्पताल जान नपरोस् भन्नेतर्फ महानगरपालिकाको ध्यान गएको भन्दै योगबाट नै स्वस्थ रहनुपर्ने अवगत गराइन् । महानगरले विभिन्न स्थानहरुमा योग शिविरहरु सञ्चालन गर्दै आएको भन्दै प्रमुख दाहालले पतञ्जलिलगायतका संस्थाहरुसँग सहकार्य गरेर योग कक्षाहरु सञ्चालनमा अघि बढेको बताइन् ।

उनले विद्यालयस्तरबाटै योग सिकाउन आवश्यकता रहेको ठानेर महानगरपालिकाले महानगरका विद्यालयहरुमा योग प्रशिक्षक राखेर विद्यार्थीहरुलाई योग सिकाउँदै आएको जानकारी दिइन् । नियमित योग अभ्यासले बाहिरी रोगमात्रै नभएर मानसिक रोगहरुलाई समेत हटाउने उनको भनाइ थियो ।

नेपालका लागि भारतीय महावाणिज्यदूत देवी शाही ‘डिएस’ मीनाले योगा सबैको लागि अति आवश्यक रहेको औँल्याइन् । उनले दूतावासले अन्तर्राष्ट्रिय योग दिवस, सप्ताहव्यापीरुपमा नेपालमा विभिन्न कार्यक्रम तथा योग शिविर गरी मनाइँदै आएकोे बताइन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरू गरेको उल्लेख गर्दै महावाणिज्यदूत डिएस मीनाले नेपालको मुख्य सहर हेटौँडा, नारायणगढ, रौतहट, जनकपुर, पोखरिया (पर्सा) र वीरगन्जमा योग शिवर सञ्चालन गरिँदै आएको उल्लेख गरिन् ।

नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिकरुपमा चुस्त राख्न मद्दत गर्ने उनको भनाइ थियो ।

उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले योग शिविरबाट योगा सिक्ने अवसर भएको बताए । बृहत् योग शिविरमा संघका तर्फबाट सहभागिता र सहयोग गर्न पाउनु खुसीकोे विषय रहेको भन्दै ओलीले बदलिँदो जीवनशैली कारण अहिले आमनागरिकमा मानसिक रोगको क्रम बढ्दो अवस्थामा रहेको र नियमित योग अभ्यासले यसरलाई परास्त गरी स्वस्थ भएर जिउन सकिने बताए ।

शिविरमा पतञ्जली योगपीठकी योग प्रशिक्षक अस्मिता पाण्डेले योगा सिकाएकी थिइन् भने आर्ट अफ लिभिङका विकास काफ्लेले योग र जीवनको बारेका प्रकाश पारेका थिए । शिविरमा भरतपुर महानगरपालिका, नेपाल–भारतमैत्री संघ, उद्योग वाणिज्य संघ चितवनलगायत संघसंस्थाहरुकोे सहयोग रहेको थियो ।