स्मल हेभनको स्कुल बसमा आगजनी गर्ने विश्वनाथ चौधरी पक्राउ

केशव

जेष्ठ १४, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका–५, कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गर्ने एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । वैशाख ३० गते बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर–२०, दद्रहानी पुलमा रोकी पेट्रोल बम प्रहार गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो ।

भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।

कमरेड महेश र कमरेड महावीर उपनाम भएका विश्वनाथको समूहले २०८० माघ २८ गते भरतपुर–२६, ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाको कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरी प्रवक्ता रिजालले बताए । विश्वनाथ चौधरी राष्ट्रिय मावि शोसीको अध्यक्ष भएको बुझिएको उनले जानकारी दिए । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

आपराधिक क्रियाकलापमा विश्वनाथसँगै अन्य पाँचदेखि छ जना व्यक्ति संलग्न रहेको प्रहरीको अनुमान छ । राष्ट्रिय मावि शोसीले विश्वनाथ चौधरी पक्राउ परेको दिन विज्ञप्ति निकालेर विद्यालय हाताभित्र प्रवेश गरी हतियारधारी प्रहरीले चौधरीलाई पक्राउ गर्दा विद्यार्थीमा त्रास सिर्जना भएको बताएको थियो ।