गणतन्त्र दिवसमा समाजसेवी श्रेष्ठले खुवाए दहीचिउरा र खिर

केशव

जेष्ठ १५, २०८१

share this:

भरतपुर । १७औँ गणतन्त्र दिवसको अवसर पारेर २०६२/६३ सालको जनआन्दोलन घाइते समितिका अध्यक्ष एवं एस. एण्ड पी. अडिटिङ कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठले भरतपुर–४, शिवघाटस्थित मकुन्देश्वर मन्दिर परिसरमा दहीचिउरा र खिर खुवाएका छन् ।

साप्ताहिक चितवनका प्रबन्ध सम्पादकसमेत रहेका समाजसेवी श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा आफूले कमाएको केही प्रतिशत रकम असहाय, अनाथ, विपन्नका लागि खर्चिने गरेका छन् ।

१७औँ गणतन्त्र दिवसको अवसरमा उनले मकुन्देश्वर मन्दिरका पुजारी, माता तथा वृद्धवृद्धाहरु गरी करिब ५० जनालाई दहीचिउरा र खिर खुवाएका हुन् ।

कार्यक्रममा भरतपुर–४ का कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद कँडेल, नेपाली कांग्रेसका चितवनका सचिव ध्रुव पोखरेल, सदस्य कल्पना पौडेललगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा उनले २०६२/६३ सालको जनआन्दोलनको सफलतापछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताको जीवनमा कुनै परिवर्तन नआएको भन्दै गुनासो पोखे ।

गणतन्त्रपश्चात् हत्या, हिंसा, बलात्कार, ठगी, आपराधिक तथा अराजक गतिविधि बढ्दै गएको, जनताको बलिदानी र रगत पसिना बगाएर ल्याएको गणतन्त्रमा जनहित प्रतिकूल बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले २०६३ पुस २७ को मन्त्रिपरिषद् निर्णयबाट जनआन्दोलन घाइतेलाई दिँदै आएको स्वास्थ्य, शिक्षा, रोजगार र यातायातमा दिएको सुविधा कटौती गरिएकोप्रति आपत्ति प्रकट गर्दै देशको बजेट माओवादी कार्यकर्तालाई वितरण गरिनु विडम्बनापूर्ण रहेको टिप्पणी गरे ।

गणतन्त्र स्थापना गर्न अमूल्य भूमिका निभाएका जनआन्दोलन घाइतेलाई सम्मान गरिनुको साटो अवमूल्यन गर्नमा प्रमुख दलहरु जिम्मेवार रहेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । गणतन्त्रलाई संस्थागत गर्दै जनताको हितमा काम गर्नका लागि उनले सुझावसमेत दिएका छन् ।